काठमाडौँ ,६ मंसिर ।आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना जारी छ। प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सबैमा गणना जारी रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिइरहेका छन्।
तर, उनका विश्वास पात्रहरु भने चुनावी अंकगणितमा पछि परेका छन्। ती मध्ये केहीले जित्ने सम्भावना पनि कम हुँदै गएको छ। लामो समयदेखि ओलीलाई साथ दिएर गत वर्ष मंसिरमा चिवतनमा भएको महाधिवेशनमा ‘टिका’ लगाएर छानिएका पदाधिकारीहरु पछाडि छन्।
ओलीका विश्वासपात्र राजन भट्टराई काठमाडौँ ४ मा पराजित भइसकेका छन्। उनी कांग्रेस महामन्त्री गगन थापासँग ८ हजार मतान्तरले पराजित भएका छन्। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले जम्मा १३ हजार ८ सय ५५ मत पाएका छन्।
दाङ -२ मा उम्मेदवार बनेका महासचिव शंखर पोखरेल माओवादी केन्द्रकी रेखा शर्माभन्दा पछाडि छन्।अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार शर्माले आठ हजार ६ सय १६ मत पाउँदा पोखरेलले जम्मा ६ हजार ८ सय ८ मत मात्रै पाएका छन्।
रुपन्देही २ बाट उम्मेदवार बनेका उपाध्यक्ष विष्णु पौडेल पनि गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछाडि परेका छन्। पौडेलले २२४४ मत ल्याउँदा पौडेलले १९४४ मात्रै मत पाएका छन्। यद्यपि पौडेलले फरकलाई घटाउँदै गएका छन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौँ -५ मा ठूलै मतान्तरले पछाडि परेका छन्। कांग्रेसका प्रदीप पौडेलले ६१८१ मत ल्याउँदा पोखरेलले ४३६५ मत पाएका छन्।
एमाले उपाध्यक्ष समेत रहेका ओलीका विश्वास पात्र सुवास नेम्वाङ झिनो मतले पछाडि परेका छन्। इलाम २ मा उम्मेदवारी दिएका नेम्वाङले सार्वजनिक भएको मत परिणाम अनुसार ३४५५ ल्याएका छन्। उनका प्रतिद्धन्दी डम्बर बहादुर खड्का ३७५६ मतका साथ अग्र स्थानमा छन्।
ओलीका अर्का विश्वास पात्र महेश बस्नेत पनि भक्तपुर- २ मा पछि छन्। बस्नेतले १५ हजार ७ २५ मत ल्याउँदा कांग्रेसका दुर्लभ थापाले १६ हजार ३७२ मत पाएका छन्। ओलीको राजनीतिक जीवनमा बस्नेतले सधैँ अग्रपंक्तिमा रहेर साथ दिँदै आएका छन्।
केपी ओलीका भित्रिया भनेर चिनिने काभ्रे -२ बाट चुनाव लडेका गोकुल बास्कोटा पनि गणनामा पछाडि नै छन्। बास्कोटाले ६३५४ मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका शिव हुमागाईंले ७०८१ मत ल्याएका छन्। पार्टी विभाजन र स्वतन्त्र पार्टीको उपस्थितिका कारण गोकुलले मत परिणाम आफ्नो पक्षमा पार्ने सम्भावना कम छ।
ओलीका अर्का विश्वास पात्र अग्नि खरेल पनि ठूलो मतान्तरमा पछि परेका छन्। झापा- १ मा उम्मेदवारी दिएका खरेल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माभन्दा पछाडि रहेका छन्। शर्माले १९ हजार २९३ मत ल्याउँदा खरेलले जम्मा ११ हजार ९ सय ७९ मात्रै मत पाएको निर्वाचन आयोगले जनाएको छ।
ओलीका अर्का भित्रिया मानिने भानुभक्त ढकाल पनि मोरङ ३ मा पछि परेका छन्। निर्वाचन आयोगका अनुसार ढकालले २५४८ मत पाउँदा कांग्रेसका सुनिल शर्माले दोब्बर मतान्तरले अग्रता लिएका छन्। शर्माले ५०८६ मत पाएका छन्। त्यहाँ अभिनेत्री रेखा शर्माले १४५४ मत ल्याएकी छिन्।
फरक दलको अध्यक्ष भए पनि अहिले मकवनपुर- १ मा सूर्य चिन्ह लिएर चुनाव लडेका कमल थापा पनि मत गणनामा पछाडि छन्।
सरकार गठनदेखि समसामयिक राजनीतिक विषयमा ओलीका कदमलाई समर्थन गर्ने थापा निकट सम्बन्धकै कारण राप्रपा नेपालको अध्यक्ष हुँदाहुँदै ओलीले सूर्य चिन्हबाट लड्न टिकट दिएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार थापाले १६४४ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेसकी डिना उपाध्यायले २४८४ मत पाएका छन्। -देशसञ्चारबाट