काठमाडौं ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
काठमाडौं १ मा कांग्रेसका सिंह निर्वाचित
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका हुन्।
कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन्।
यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यति बेला मिश्र ८१९ मतले पराजित भएका थिए।अघिल्लो चुनावमा विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठेका हुन्।