दमक,५ मंसीर । दमक ६ लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारीले संस्थाले आज एघारौं साधारणसभासहित आफनो बार्षिकोत्सव सम्पन्न गरेको छ ।
दमकस्थित पशुपति मन्दिरको सभाहलमा बार्षिक साधारण सभासहित बार्षिकोत्सवमा विभिन्न सम्मान पुरस्कार तथा प्रतिवेदनहरु पारित गरि समापन गरिएको व्यवस्थापक कुवेर तुम्बापोले जानकारी दिए । गत कार्तिक २२ गतेदेखि इकाईगत रुपमा ११ औ साधारणसभा शुरु भई आज भने औपचारिक रुपमा साधारण गरि समापन गरिएको हो
जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा सहभागिहरुले सहकारीको माध्यमबाट साना साना बचतले पनि ठूला काम गर्न सकिने औल्याएका छन् । वक्ताहरुले मुलुकको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेकाले अर्थतन्त्रको गिरावट रोक्न सहकारीले भूमिका खेल्नुपर्ने जोड दिए।
सभामा प्रमुख अतिथि कोइराला, विशेष अतिथि झापा जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समितिका संयोजक चुँडामणी ओझा , शिखा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठ, राष्ट्रिय बहुमुखी सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलाराज तुम्वापो, नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने लगायतले सहकारीका महत्व माथि चर्चा गरेका थिए ।उनीहरुले पछिल्लो समय सहकारीहरुले बैंकसँग प्रतिष्पर्धा गर्नु परेको भन्दै सहकारीहरु मर्ज गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
संस्थाका अध्यक्ष पदम लिम्बू लिङदेन (संकल्प)ले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै फाल्गुनन्द सहकारीले सदस्यहरुलाई प्रदान गर्ने सुविधाहरु अरु सहकारीको तुलनामा पृथक रहेको बताए । उनले संस्थाको शेयर पूँजी, बचत निक्षेप, कर्जा कार्यविधि, कर्मचारीको ब्यवस्थापन, युवा स्वरोजगार कार्यक्रम, बोनस, फाल्गुनन्द स्वर्णीम नारी बचत, सुपर बचत जस्ता योजनाहरु समेटिएको प्रतिबेदन प्रस्तुत गरेका थिए । सभामा लेखा समितिका निमित्त संयोजक वीरबहादुर लावतीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्रले प्रस्तुत दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
शेयर पूँजी करोड २९ लाख ६० हजार ७ सय पुरयाँउने
यसैगरि गएको वर्षसम्ममा ४ करोड ६५ लाख १२ हजार ३ सय शेयर पूंजी रहेको संस्थामा चालु वर्ष भित्र शेयर पूंजी बृद्धि गरि ५ करोड २९ लाख ६० हजार ७ सय पुरयाँउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, चालु वर्षमा विभिन्न उद्धेश्यमा ४८ करोड ६२ लाख ७८ हजार ऋण लगानी, जगेडा कोषमा ९६ लाख २६ हजार १ सय १५ पुर्याउने लक्ष्य रहेको प्रतिबेदनमा उल्लेख छ ।
संस्थाका सचिव देशराज नेम्बाङले सञ्चालन र उपाध्यक्ष फूलकुमारी नेम्बाङ आङदेम्बेले स्वागत गरेको सभाको उद्घाटनमा संस्थाका सदस्य कमला योङहाङ, सुबास आचार्य, संस्थाका प्रमुख सल्लाहकार जनकसेन जवेगु, संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीप जवेगु, प्रमुख व्यवस्थापक कुवेर तुम्बापो लगायत कार्यसमितिका पदाधिकारी, सदस्य र साधारण सदस्यको उल्लेख्य उपस्थिति रहेको थियो ।
साधारणसभाको समापन कार्यक्रममा सञ्चारकर्मीसहित ज्येष्ठ शेयर सदस्य, उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य, शाखाका उत्कृष्ठ आवधिक बचतकर्ताहरुलाई विधागत रुपमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
झापा, मोरङ र इलाम जिल्लामा कार्यक्षेत्र रहेको सहकारीले बिर्तामोड , झिलझिले र मोरङको उर्लावारीका शेयर सदस्यहरुको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ भने इलामको चुलाचुली ,माङसेवुङ र मधुमल्लामा समेत सेवा केन्द्र विस्तार गर्ने योजना रहेको जनाइएको छ ।
पत्रकार लामिछाने पुरस्कृत
सहकारीले वितरण गर्दै आएको फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार बिमल लामिछाने पुरस्कृत भएका छन् । संस्थाको ११ औ बार्षिक साधारणसभाको अवसर पारेर आज पत्रकार लामिछानेलाई नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरेको हो । पुरस्कारको राशी नगद रु १० हजार १ सय ११ र ताम्रपत्रसहित रहेको छ । सहकारीका क्षेत्रमा कलम चलाए वापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत पत्रकार लामिछाने दुई दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील छन् ।वीटलाइट न्यूज अनलाइन न्यूज पोर्टलका सञ्चालक लामिछाने नेपाल पत्रकार महासंघ झापा शाखाको प्रदेश समितिका कोषाध्यक्ष हुन् ।