रङ्गीबिरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीय स्थल दोमुखा

झापा, ५ मङ्सिर । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीय स्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ ।
शिवशताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताए । “हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ”, उनले भने, “पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।”
दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्वार माईधारमा आकर्षक द्वार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई दृष्टिगत गरी ३० वटा बढी सानाठूला होटलसमेत सञ्चालनमा छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवशताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिए । दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताए ।
कनकाई नदीबाट नहरमा बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैतसम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् ।
महारभारत पर्वत शृङ्खलाबाट उत्पति भई चुरे पहाड हुँदै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखा रहेको हो ।
दोमुखालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको हो । हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् ।
सताक्षीधाम धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै
केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ ।
पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजुली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवागमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको बताइन्छ ।
उहाँ अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिँदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताए ।
विगत १० वर्षमा यहाँको स्वरुप नै परिवर्तन भएको छ, उनले सुनाए । सडकको सहज पहुँच, विद्युत् र यहाँ बनेका नयाँ मन्दिर तथा संरचनाहरुले धार्मिक पर्यटकलाई यहाँसम्म सहज रुपमा ल्याउन थालेको उनले बताए । पूर्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा सताक्षीधामको नाम आउन थालेको उनले उल्लेख गरे ।
सताक्षीधाम परिसरमा रहेको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजका अनुसार आफूहरुलाई विश्वास गरेर दाताहरुले गरेको विश्वास र सहयोगले सताक्षीधामको महिमा बढेको छ । यहाँ करोडौंका धार्मिक संरचनादेखि लिएर संस्कृत पाठशालासम्म सञ्चालन भएको उनले बताए ।
उनका अनुसार १० वर्ष अघिदेखि हामीले गोरक्षका लागि महोत्सव पनि आयोजना गर्दै आएको छ । सताक्षीमाताको मन्दिर विश्वमा एकमात्र यहीं रहेकाले यसको महत्व पनि धेरै रहेको उनले बताए । सुरुवातका दिनहरुमा यहाँ काम थाल्दा आफूले निकै कष्ट भोगेको स्मरण गर्दै उनले अहिले विश्वास आर्जित भएपछि भक्तजनको दानबाट नै यहाँको विकास भइरहेको बताए ।
नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्याण्ड, युके, फिनल्यान्डलगायत मुलुकमा रहेका भक्तजनले यस क्षेत्रको विकासका लागि योगदान दिएको उनले जानकारी दिए । स्थानीय, सङ्घीय र प्रदेश सरकारको पनि सहयोग छ, उनले भने ।
सताक्षीधाममा आउने धार्मिक पर्यटकको बसोबासका लागि धर्मशाला निर्माण, साधुसन्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर आश्रम बनाउने काम पनि धमाधम भइरहेको छ । नेपालमा पहिलो पटक द्वादश ज्योतिर्लिङ्ग सताक्षीधाममा निर्माण भएपछि यसको धार्मिक महत्व थप बढेर गएको भारद्वाजले बताए ।
बालाचतुर्दशी, शिवरात्री, गुरुपूर्णिमा, रामनवमी, गोरक्षा महोत्सवजस्ता पर्वमा सताक्षीधाम क्षेत्रमा धार्मिक मेलामा हजारौंको भिड लाग्ने गरेको गौशालाका सचिव मदनमोहन अधिकारीले बताए । गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजको पहल र उनकै प्रयासले सताक्षीधामले नयाँ पहिचान पाएको उनको दाबी छ । एकजना सन्तको प्रयास र स्थानीयको विश्वासले यो सम्भव भएको उनले भने । शिवसताक्षी नगरपालिकाले पनि यसलाई झापाको प्रमुख धार्मिकस्थलको रुपमा विकास गर्न गुरुयोजना बनाएको छ । नगरपालिकाका प्रमुख रोशन थोप्राका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सताक्षीधामको बिकास र प्रवर्धनका लागि गुरुयोजना बनाएर अघि बढेको बताए ।

 

Leave a Reply

Your email address will not be published.