झापाका प्रहरी कार्यालयमा आक्रमण गर्ने २९ जना पक्राउ

झापा, ३ मंसिर । जेनजी आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयमा आक्रमण गर्ने २९ जना पक्राउ परेका छन् ।बिर्तामोडमा १६ र दमकमा १३ जना पक्राउ परेका हुन् । पछिल्लो पटक जेनजी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ८ गरामनी बस्ने वर्ष ३६का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष १९ का सेशेहाङ इङ्नाम लिम्बू रहेका छन् । मंगलवार बिहान अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैलाई आ–आफ्नो घरबाट नियन्त्रणमा लिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
त्यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडले १४ जनालाई पक्राउ गरेको थियो । बाह्रदशी गाउँपालिका ५ का ३९ वर्षीय भुवन ओली , बिर्तामोड ६ का २४ वर्षीय अनिश मण्डल , बिर्तामोड ५ का ४५ वर्षीय नवराज राई , सोही वडाका २० वर्षीय राजन चौधरी , १६ वर्षीय आयुष धिमाल , बिर्तामोड १ का ४२ वर्षीय गोपाल संग्रौला , शिवसताक्षी १० का ३१ वर्षीय संजय बस्नेत , सोही ठाउँका २५ वर्षीय कुल तिम्सिना , बिर्तामोड ५ की २४ वर्षीया पुजा मगर , अर्जुनधारा ७ का २८ वर्षीय सुरज राई , सुनसरी हरिनगर १ का २२ वर्षीय साहिद हुसैन अन्सारी , बिर्तामोड २ का २२ वर्षीय विकास टुडू र सोही ठाउँका २९ वर्षीय भोला मियाँ भन्ने छतिस यादवलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहार , ज्यान मार्ने उद्योग , आपराधिक उपद्रव र हतियार तथा खरखजना सम्बन्धी मुद्धा चलाइएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकले १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १७ वर्षका ३ जना नाबालक रहेका छन् । त्यस्तै पक्राउ पर्ने अन्यमा इलाम चुलाचुली वडा नं. ३ पेल्टीमारी बस्ने १९ वर्षीय सुजल राई, दमक नगरपालिका वडा नं. ७ श्रीपाली टोल बस्ने १९ वर्षीय गणेश शर्मा, दमक नगरपालिका वडा नं. ३ बस्ने २२ वर्षीय केदार बस्नेत, पाँचथर मिक्लाजुङ वडा नं. ५ स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नं. १ बस्ने २१ वर्षीय साजन लुहागुन, दमक नगरपालिका वडा नं. ९ बस्ने २६ वर्षीय अरुण रोक्का, इलाम चुलाचुली वडा नं. ३ बस्ने २२ वर्षीय नकुल अधिकारी, दमक नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षीय दिपचन महतो, दमक नगरपालिका वडा नं. ६ बस्ने २४ वर्षीय लोमस कटुवाल, दमक बस्ने २० वर्षीय गौरव भुजेल र पाँचथर बस्ने २२ वर्षीय सुशिल फियाक रहेका छन् ।

Leave a Reply

Your email address will not be published.