बिर्तामोड, ३ मङ्सिर । झापा सदरमुकाम चन्द्रगढीको वीरेन्द्र नमुना माध्यमिक विद्यालयको मतदानस्थल नजिकै अज्ञात समूहले बमजस्तो देखिने वस्तु राखेर आतङ्कित पारेको छ । खतरा लेखेर राखिएको उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाले शनिबार बिहान ७ बजे नष्ट गरेको थियो ।भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको पश्चिमी गेटमा गएराति शुक्रबार बमजस्तो देखिने वस्तु फेला परेको थियो ।
दुईवटा झोलामा भेटिएको बमजस्तो देखिने वस्तु फेला परेपछि प्रहरीले उक्त वस्तु रहेको स्थानमा सर्वसाधारणलाई जान निषेध गरेर सुरक्षा दिएको थियो भने नेपाली सेनाको डिस्पोजल टोलीले सुरक्षित स्थानमा डिस्पोज गर्दा शक्तिशाली आवाज नसुनिए पनि बारुदजन्य पदार्थ पड्किएको जस्तो आवाज आएको थियो ।
झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार पाठकका अनुसार सो वस्तु बम नभएर बालुवा र अन्य चिज भरेर बम जस्तो देखिनेगरी राखिएको र निर्वाचन बिथोल्ने शक्तिहरूले निर्वाचनमा सर्वसाधारणलाई आतङ्कित पार्ने उद्देश्यले उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान रहेको पाठकले बताए ।
गएराति शुक्रबार ९ बजेर ४० मिनेटमा वीरेन्द्र माविको पश्चिमी गेटमा शङ्कास्पद वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात उत्तरतर्फको सानो गेटमा फेरि अर्को शङ्कास्पद वस्तु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पहिला फेला परेको वस्तु कार्टुनले प्याक गरी तार निकालिएको छ । त्यसमाथि खतराको सङ्केत उल्लेख गरिएको छ । दोस्रो शङ्कास्पद वस्तु झोला हो ।
एउटै मतदानस्थलमा दुईवटा शङ्कास्पद वस्तु फेला परेसँगै स्थानीयमा त्रास फैलिएको थियो । शङ्कास्पद वस्तुमा ‘नो भोट’ र खतरा लेखिएको पाइएको थियो भने कार्टुनमा तार जडान गरेर टेप टालिएको थियो । सेनाको टोलीले शनिबार बिहान ७ बजे उक्त वस्तुलाई नष्ट गरेको थियो ।
यता निर्वाचनलाई लक्षित गरी झापाको नेपाल भारत १४४ किलोमिटर सीमा नाकालाई पूर्णतः सिल गरिसकिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।
झापामा निर्वाचनका लागि २०८८ जना प्रहरी र बाँकी थप ८०२ जना जिल्ला बाहिरबाट समेत प्रहरी सुरक्षामा लगाइएको समेत पोखरेलले जानकारी दिए ।
हरेक निर्वाचन केन्द्रमा सुरक्षा संवेदनशीलताका आधारमा हरेक मतदान केन्द्रमा कम्तीमा दुई जना महिला म्यादी प्रहरीसहित झापाका अति सामान्य ४६ मतदान केन्द्र, संवेदनशील १४४ मतदान केन्द्र र अतिसंवेदनशील मानिएका झापाका ९५ मतदान केन्द्र र अस्थायी दुई मतदान केन्द्रमा समेत गरी सुरक्षा व्यवस्था मिलाइसकिएको समेत प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।
विराटनगरमा शंकास्पद बस्तु फेला
निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ । शनिबार बिहान विराटनगर महानगरपालिका ३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।
शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेर उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाएको छ ।