धनकुटा ,३ मंसीर । धनकुटा जिल्ला साँगुरीगढीमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–३ सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा अचानक बेहोस भइ ढलेकी लिम्बूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन्। अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राय शुक्रबार सकुसल अवस्थामा सुतेका थिए। उनी निर्वाचन सामग्री र अन्य कर्मचारीसहित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंसीर १ गते मतदान केन्द्र पुगेका थिए।
मतदान अधिकृत रायको मृत्यु भएपछि सहायक मतदान अधिकृतमार्फत वा अर्को मतदान अधिकृतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी रामनारायण शाहले बताए। “सहायक मतदान अधिकृतलाई नै मतदान अधिकृतको काम गर्न भनेका छौं। तर, सक्दिन भनिरहेका थिए ,” शाहले भने, “सके उहाँले नै मतदान अधिकृतको काम गर्नुहुन्छ, नसक्ने अवस्थामा अर्को मतदान अधिकृतको व्यवस्था गर्नेछौं।” घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।