झापा, २ मंसिर । मुद्रासम्बन्धी कसुरमा एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय ठेकिएका चौधरी सजाय भुक्तान गरी शुक्रबार रिहा भएका हुन् ।
अमेरिकी डलरको कलर फोटोकपी बोकेर हिँडेको कसुरमा चौधरीलाई एक वर्षअघि झापा प्रहरीले पक्राउ गरेको थियो । नेपालमा ट्राभल भ्लग र प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न आएका चौधरीले सुटिङ प्रयोजनका लागि ल्याएको डलरको फोटोकपीको अनुमति नलिएका कारण पक्राउ परेका थिए ।
नेशनल जियोग्राफी, टाइम्स अफ इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत वर्षको मंसिर २ गते पक्राउ गरिएको थियो । त्यसलगत्तै खोटा मुद्राको मुद्दामा उनलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
थुनामा पठाएको ८ महिनापछि झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले नक्कली मुद्रा बोकेको कसुरमा उनलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर गरिएको थियो । दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी डलरको फोटोकपी पेपरलाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्ने प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।