ताप्लेजुङ ,३ मंसिर । विद्युत् प्रवाह भइरहेको तार चुँडेर लाग्दा घाइते मैवाखोला गाउँपालिका -३ की ७ वर्षीया बालिका मंसिरी शेर्पाको मृत्यु भएको छ । उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार साङ्गे शेर्पाकी छोरी मंसिरी विद्यालयबाट घर फर्किरहेकी थिइन् ।
उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत थिइन् । घर फर्कने क्रममा उनलाई पोलबाट झरेको तारले लागेको थियो । यो क्षेत्रमा दुईवर्ष अघि पनि यस्तै गरि करेन्ट लागेर एकजनाको ज्यान गएको थियो ।
भिरबाट लडेर राईको मृत्यु
संखुवासभाको सिलिचोङ ३ खड्बा खोलानजिकै रहेको तेवा भिरमा लडेर राजन राईको मृत्यु भएको छ । प्रहरीका अनुसार साथीहरूसँग भिरमा चढेर भिर मौरीको मह काढ्ने क्रममा आइतबार साँझ १ सय ५० मिटर अग्लो भिरबाट लडेर उनको मृत्यु भएको हो ।
त्यस्तै, मकालु गाउँपालिका-२ सेदुवा कास्वा हाइड्रोपावरको बाटोको ट्र्याक ओपन गर्ने क्रममा मकालु गाउँपालिका-२ सेदुवाका ३० वर्षीय सुरबिर राईको घटनास्थलमै मृत्यु भएको डीएसपी दक्षकुमार बस्नेतले बताए । सोमबार बिहान एक्स्काभेटर अचानक बाटोबाट करिब १सय मिटरतल झरेर दुर्घटना भएको थियो ।