झापा, ३ मंसिर । पार्टीको सयदिने अभियान अन्तरगत नेपाली कांग्रेस झापाले टोलदेखि क्षेत्रीय स्तरसम्मका कार्यक्रम तय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्व तथा एकसय दिने अभियानका लागि खटिएका झापा प्रतिनिधि पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीको प्रमुख आतिथ्यतामा आयोजित बैठकले संगठन सुढिढकरण अभियान अन्तरर्गत सय दिने अभियान झापामा प्रभावकारी रुपमा सम्पन्न गर्न वडादेखि टोल टोलसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकले अभियान अन्तर्गत यहि मंसिर ११ गतेदेखि २२ गतेसम्म वडा र टोलसमितिको बैठकपश्चात १३१ वटै वडाको वडा भेला सम्पन्न गर्ने, मंसिर २४ गते भातृ तथा शुभेच्छुक संघसंस्थाको जिल्लास्तरीय भेला, मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म गाउँ÷नगर भेला एवं सम्मेलन, पौष ६ गतेदेखि १० गतेसम्म पाँचवटै क्षेत्रको क्षेत्रीय भेला, कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
अभियान अन्तर्गत जिल्लाका १३१ वटै वडामा पार्टीको अभियान पुरयाँउन जिल्ला कार्यसमितिका पदाधिकारी,सदस्य,महाधिबेशन प्रतिनिधि,क्षेत्रीय समितिका पदाधिकारीहरुलाई वडा प्रतिनिधिका रुपमा परिचालन गर्ने निर्णय भएको जनाईएको छ ।
अभियानलाई पौष १६ गते मेलमिलाप दिवसको अवसर पारेर सयदिने अभियान समापन गरिने नेपाली कांग्रेस झापाले जनाएको छ ।
अभियानले संगठन बलियो बनाउने छ : गिरी
एकसय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
सोमबार जिल्ला पार्टी कार्यालयमा आयोजित भेलामा पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम, सांगठनिक अवस्था, सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया, बैठक, सम्मेलन, कार्यतालिका, अभिलेखीकरण, भातृ तथा शुभेच्छुक संघसंस्थाको क्रियाशिलता, स्थानीय सरकार पार्टी र जनप्रतिनिधिबीचको समन्वय, समसामयिक मुद्दा, महासमिति बैठकबाट पारित विषय, सरकार गठन र दलीय सहकार्य, पार्टीले लिएका अडान र जनसरोकारका बिषयमा पार्टीले अवलम्बन गर्नुपर्ने सन्दर्भका बारेमा बृहत छलफल हुने जोड दिए । उनले भने, ‘यसले संगठनलाई बलियो र एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
नेता गिरीले अभियान सफल पार्नु हामी सबैको दायित्व भएकाले म नेता होइन, सहयोगी भएर आएकाले सवै एक भएर अभियान सफल बनाउन लाग्नुपर्ने औल्याए ।
बैठकमा कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले सयदिने अभियान अन्तरगत कोशी प्रदेश सम्मेलन र ‘कचनकबल–सगरमाथा यात्रा’ कार्यक्रम तय गरिएको जानकारी दिए ।
उनले कचनकबल–सगरमाथा यात्राका क्रममा सबै नेता कार्यकर्ता एवं जनताको सामाजिक, आर्थिक अवस्था, जनजीवन, विकास निर्माण, सांगठनिक अवस्था बुझिने र सोही अनुरुप पार्टीको नीति तथा कार्यक्रमहरु बनाउन सहयोग पुग्ने धारणा राखे । अभियान अन्तरगत मंसिर २२ गते कोशी प्रदेश सम्मेलन र पुष १६ मा कचनकबल–सगरमाथा यात्रा प्रारम्भ गर्ने उनले जानकारी दिए ।
कांग्रेस झापाका सभापति थेवेले वडा तहमा खटिएका जिल्ला प्रतिनिधिहरुलाई वडा, टोलसम्म पुगेर केन्द्रले लिएको नीति र अभियान अनुरुप कार्य गर्न आग्रह गरे । वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुने बताउँदै सभापति थेवेले वडातहबाटै संगठन सुदृढीकरणमा लाग्न प्रतिनिधिहरुलाई आह्वान गरे ।
यसैबीच सभापति थेवेले आगामी मंसिर १६ गते उपनिर्वाचन अन्तगत कनकाई वडा नम्बर ६ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेद्वार रामगोपाल ओलीलाई अत्यधिक मतले विजयी गराउन कनकाई ६ का जनसमुदायमा अपिल गर्दै उहाँको पक्षमा माहौल सिर्जना गर्न पार्टीका नेता-कार्यकर्तालाई सहयोग गर्न आग्रह गरे ।
पार्टी उपसभापति केशवराज पाण्डेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा उपसभापति शेरबहादुर भट्टराईले धन्यवाद र सहजीकरण सचिव कृष्ण हुमागाईले गरेको सचिव नवीन विमलीले जानकारी दिए ।