झापा,१ मंसीर । झापाको शिवसताक्षीस्थित इलाका प्रहरी कार्यालय झिलझिलेबाट फरार थप दुई थुनुवा पक्राउ परेका छन् ।आइतवार दिउँसो ४ः३० बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी –४ बस्ने २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही ठाउँ बस्ने ४० वर्षीय नन्दकिशोर शाहलाई उनीहरुको घरबाटै पक्राउ गरेको हो । उनीहरुलाई इप्रका झिलझिलेमा राखिएको छ । लागूऔषध मुद्धामा म्याद थप भई कसुर अनुसन्धान भइरहेकोमा जेनजी आन्दोलनका क्रममा उनीहरु फरार भएका थिए ।
आइतवार अर्का फरार थुनुवा पक्राउ परेका थिए । सवारी अंगभङ्ग मुद्दामा पक्राउ परी अनुसन्धान भइरहेका कचनकवल –६ घर भई हाल काठमाण्डौं दक्षिणकाली ३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल पनि पक्राउ परेका हुन् । उनी पनि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इप्रका झिलझिलेको हिरासतबाट भागेका थिए ।
इप्रका झिलझिलेबाट ५ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ३ जना पक्राउ परेका हुन् । जेनजी आन्दोलनका क्रममा गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका इप्रका दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये हालसम्म १० जना मात्र पक्राउ परेका छन् भने ८२ जना फरार नै रहेका छन् ।