दमकमा हात्तीको आक्रमणमा परेर भण्डारीको मृत्यु

दमक,२ मंसिर । जंगली हात्तीको आक्रमणमा परेर झापाको दमकमा आज विहान एक जना युवकको ज्यान गएको छ ।यसरी ज्यान जानेमा दमक ३ स्थित दिपज्योति टोलका ४५ बर्षिय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।
हात्ती धपाउन खोज्दा हात्तीले भण्डारीलाई १ सय मिटर भन्दा परसम्म लखेटेर आक्रमण गरेको जनाइएको छ ।
दमकको वडा नंं २ र ३ हात्ती प्रभावित क्षेत्रमा पर्दछ । वडा नंं ३ का वडाध्यक्ष नबिन बरालका अनुसार हात्तीबाट ज्यान बचाउन स्थानीयलाई निक्कै मुस्किल बन्न थालेको अवस्था रहेको छ । हात्तीहरू दिनको समयमा नजिकै हम्सेदुम्से जङ्गलमा बस्ने र बेलुकाको समयमा बस्ती तथा गाउँ पस्ने गरेका छन् ।
यसैगरि, केही दिनअघि देखि बेपत्ता रहेका जिल्लाको झापा गाउँपालिका ४ का ५ बर्षिय गणेशबहादुर खत्री खोलामा डुबेको अवस्थामा मृत भेटिएको छ ।
गत बुधवार दिउसोदेखि बेपत्ता रहेका खत्रीको आफन्तले प्रहरीलाई जानकारी गराएपछि खोजी गर्ने क्रममा शनिवार सोहि पालिकाको वडा न. १ मा पर्ने माई खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दुवै घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.