झापा ४ मा आफूले जित्ने उम्मेदवार थेबेको दावी

झापा, १ मंसिर । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र न ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेबे यसपटक आफूसहित गठबन्धनका सबै उम्मेदवारहरुले जित्ने दावी गरेका छन् ।
झापा क्षेत्र नं ४ को २८ वटै वडामा बिहीवार घरदैलो कार्यक्रम सम्पन्न गरेर उत्साहित देखिएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार थेबेले पत्रकारहरुसंग कुराकानी गर्दै निवर्तमान सांसद एलपी साँवाले पाँच वर्षसम्म खासै काम नगरेपछि त्यसको फाइदा उठाउँदै गठबन्धनका उम्मेदवार पासा पल्टाउने दावी गरे । उनले भने ,‘ उत्साहजनक माहौल छ । त्यसकारण हाम्रो जीत सुनिश्चित छ ।’ आफूहरुले घरदैलोका क्रममा झापा क्षेत्र नं ४ का जनताको भावना बुझ्दा निवर्तमान सांसद साँवाले पाँच वर्षसम्म खासै काम नगरेकाले फेरि पनि उनलाई नै मतदान गर्न इच्छा मतदाताहरुले नदेखाएको थेबेले सुनाए ।

बाटोघाटो , खानेपानी , नदी नियन्त्रण,सुकुम्बासी,शिक्षा,स्वास्थ्यजस्ता समस्यातर्फ साँवाले ध्यान नदिएको बरु सांसद नभएर पनि आफूले सहयोग गरेको धारणा मतदाताले राखेको थेबेको भनाई छ । झापा क्षेत्र नं ४ मा ५४ मतदानस्थल र १४९ मतदान केन्द्र छन् । कूल मतदाताको संख्या १ लाख २३ हजार १२४ रहेको छ । थेबेको प्रतिष्पर्धी एमालेका उम्मेदवार साँवा छन् । अघिल्लो निर्वाचनमा पनि दुवैले प्रतिष्पर्धा गरेका थिए । त्यस निर्वाचनमा माओवादीको साथ पाएर साँवाले ४३ हजार ५१५ मत ल्याउँदा थेबेले २६ हजार ८२२ मत पाएका थिए । यसपटक भने आफू गठबन्धनको सहयोगमा ५ हजारबढी मतले विजयी हुने थेबेले दावी गरेका छन् ।

घरदैलोका क्रममा विभिन्न पार्टी परित्याग गरी गरी ८ सयबढी कांग्रेसमा प्रवेश गरेको कांग्रेसका जिल्ला सदस्य याम भुजेलले बताए । उनले आज साँझ पनि सुरुङ्गामा पार्टी प्रवेश कार्यक्रम राखिएको जानकारी दिए । गठबनधनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा थेबेले उम्मेदवारी दिँदा गठबन्धनकै तर्फबाट झापा ४(१ ) मा माओवादीका झलकसिंह दर्लामी र (२ ) मा कांग्रेसका एकराज उप्रेती उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published.