भद्रपुर, १ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार डम्बरबहादुर गिरीले नेकपा एमालेको पार्टी संगठन जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
पार्टी नेतृत्वले स्थानीय नेता कार्यकर्तासँग परामर्श नगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सो क्षेत्रबाट उम्मेदवार बनाएपछि यसपटक पनि राजेन्द्र लिङ्देनलाई मतदान गर्दा पार्टी सकिन्छ भन्ने भयले विद्रोह गरेर चुनावी मैदानमा उत्रिएको उनले बताए । एमालेका आम कार्यकर्ताको साथ आफूलाई रहेको उनको दावी छ ।
‘म एमालेको पृष्ठभूमिबाट आएको हुँ,’ युवा नेता गिरीले भने, ‘यस क्षेत्रका मतदाताले परिवर्तन विरोधी राजतन्त्रवादीलाई पटकपटक बोक्न सक्दैनन् ।’ पार्टी नेतृत्वको निर्णयलाई स्वीकारेर २०७४ सालको निर्वाचनमा राजेन्द्र लिङ्देनलाई विजयी गराएको स्मरण गर्दै उनले भने, ‘गणतन्त्रको मैदान र कम्युनिष्ट आन्दोलनको उर्वरभूमी झापाका वामपन्थीहरूले मरिसकेको राजतन्त्र ब्युँताउन पटकपटक राप्रपालाई मतदान गर्न सक्दैनन् ।’
एमालेको ७० प्रतिशत भन्दा बढी मत आफूलाई आउने दावी गरेका उनले लोकतान्त्रीक गणतन्त्रको संविधान टेकेर राजतन्त्र ब्युँताउने राप्रपाको एजेन्डा गलत भएको जिकिर गरे । पार्टी नेतृत्वले राप्रपालाई मत हाल्ने कुरामा दवाव गर्न नहुने बताएका उनले मतदातालाई जवरजस्त अर्को पार्टीमा मत हाल्न लगाउने कम्युनिष्ट पार्टी भित्रको यो कस्तो लोकतन्त्र होरु उनले प्रश्न गरे ।
पार्टीले कारवाही गरेको प्रसङ्गमा उनले भने– ‘पार्टीले कसलाई कारवाही गर्यो, त्यो सक्कली हो की नक्कली हो मलाई थाहा छैन ।’ पार्टी कमिटीबाट आजका दिन सम्म कारवाहीको पत्र आएको छैन । एमालेका कुनै एक नेताले पार्टी पद्धति विपरीत पार्टी कमिटीको बैठक नबसी जहाँ पायो त्यहीँबाट तिघ्रामा कागज राखेर हस्ताक्षर गरी सामाजिक सञ्जालमा पोस्ट गर्दैमा कारवाही नहुने उनको तर्क छ ।
झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले संसद् विकास कोषको पैसा उचित ठाउँमा विकास निर्माणमा नलगाएको आरोप लगाएका नेता गिरीले राज्यको पैसा डुबाउनु पनि भष्ट्राचार भएको दाबी गरे । संसद् विकास कोषबाट प्राप्त हुने वार्षिक छ करोड रुपैयाँ निर्वाचन क्षेत्रको विकास निर्माणको कार्यमा सही सदुपयोग नभएको बताउँदै उनले भने, ‘क्षेत्र विकास भन्दा पनि राजेन्द्र जी पार्टी संगठन विस्तार गर्ने काममा मात्र लाग्नु भो ।’
यस क्षेत्रबाट पटकपटक सांसद भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष लिङ्देनको विकास निर्माणमा ध्यान नपुगेको बताएका उनले नेताहरू क्षेत्र विकास भन्दा पनि व्यक्तित्व विकासका लागि लागि परेका कारण यस क्षेत्रमा विकास निर्माणले गति लिन नसकेको बताए ।
हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष हुँदा शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा गरेको कामको मूल्याङ्कन समग्र झापा ३ का मतदाताले नजिकबाट नियालेका कारण पनि आफूले चुनाव जित्नेमा ढुक्क रहेको उनले दाबी गरे ।
आफूले ०६२(६३ को जन आन्दोलनमा व्यवस्था परिवर्तनको पक्षमा निर्वाह गरेको भुमिकाले पनि यस क्षेत्रमा चुनाव जित्न सहज हुने उनको बुझाइ छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत आफूलाई समर्थन रहेको उनले दाबी गरे ।