दमक, २८ कार्तिक । कोशी प्रदेशका सभा सदस्य होमबहादुर थापाले नेपाल सम्वत नेवार समुदायको मात्र नभएर मुलुककै मौलिक सम्वत भएको बताएका छन् ।नेपाल सम्वत ११४४ भिन्तुना समारोह आयोजक समितिले आज दमकमा आयोजना गरेको नेपाल सम्बत ११४४ न्हं भिन्तुना स्वागत कार्यक्रममा बोल्दै सभासद थापाले नेपाल सम्बत नेवार समुदायको मात्र नभएर नेपाल मुलुकको सम्वत भएको जोड दिए ।
उनले यस मौलिक पर्वको नेवार र गैर नेवार मिलेर संरक्षण गर्नु पर्ने धारणा राखे । नेपाल बहुजाति,बहुभाषी रहेको मुलुक भएको भन्दै उनले नेवार समुदायमा रहेको संस्कृति संरक्षण गर्न सबै पक्ष योगदान खाँचो रहेको औल्याए ।
तत्कालिन एमाले सरकारले २०५६ साल मंसिर २ गते राष्ट्रिय विभूतिका रुपमा शंङधर साख्वालाई घोषणा गरेको उल्लेख गर्दै उनले भने , –‘साख्वा र नेवारी समुदायको उत्थानका लागि आफूबाट सहयोग र सदभाव रहने छ ।’
नेपाल सम्बत ११४४ भिन्तुना समारोह आयोजक समितिका अध्यक्ष राम कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमका दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शंङधर साख्वा देशकै ऐतिहासिक ब्यक्तित्व भएको उल्लेख गरे । कार्यक्रममा दमक ६ का वडाअध्यक्ष टेक बहादुर थापा ,भिन्तुना समारोह आयोजक समितिका सल्लाहकार दिलिप श्रेष्ठले लगायतले राष्ट्रिय विभूति शंङधर साख्वाको विषय माथि प्रकाश पारेका थिए । कार्यक्रमका अवसरमा सहभागिहरुले शंङधर साख्वाको शालिकमा माल्यअर्पण गरेका थिए । यस्तै, कार्यक्रममा नेवारी जातिको संस्कृतिमूलक लाखे नाच ,ठाकठुके लगायतका नाच तथा झाँकी समेत प्रस्तुत गरिएको थियो ।