कमल,२६ कार्तिक । कमल गाउँपालिकाले आज आगलागीबाट घरबार गुमाएका एक पीडित परिवारलाई राहत सामाग्रीहरु उपलव्ध गराएको छ ।कमल -१ गडुमारी बस्ने खगेन्द्र थापाको परिवारलाई सिरक,डस्ना, चामल,तेललगायतका आधारभूत राहत सामाग्रीहरु उपलव्ध गराएका हुन् । आज पालिकाका अध्यक्ष हुकुमसिंह राई,कमल -१ का वडाध्यक्ष केदार कटुवाल,नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाका सभापति चन्द्र साहसहितको एक टोली घटनास्थलमै पुगेर ती राहत सामाग्रीहरु पीडित परिवारलाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखाका सचिव पारषमणि राईले बताए । उनका अनुसार रेडक्रसले पीडित परिवारलाई एक थान त्रिपालसहित एक सेट राहत सामाग्रीहरु रहेका छन् ।
सोमबार दिउँसो ३.५० बजे थापाको बाँसको भाटाको टाटीबेरा, टिनको छानो भएको भुइँ घरमा अचानक आगलागी भएको हो । आगलागीबाट घर र घरमा भएको नगद ५० हजार, भाडावर्तन, अन्नपात, लताकपडा गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको छ ।
आगलागी प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र कमल गाउँपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।