माङहिममा १३९ औ फाल्गुनन्द जयन्ती मनाईयो

दमक,२५ कार्तिक । झापाको कमल गाउँपालिका -७ मेमेङ टोलमा आज किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १३९ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईएको छ ।१६ औ राष्ट्रिय विभूति समेत समाज सुधारक फाल्गुनन्द जयन्तीका अवसरमा विश्वशान्तिको कामना गदैं पूजापाठ गर्नुका साथै उनको जीवनी माथि चर्चा गरिएको थियो । किरात युमा माङहिम र फाल्गुनन्द आमा समूहको आयोजनामा भएको सो कार्यक्रममा सहभागि वक्ताहरुले महागुरु फाल्गुनन्द किरात धर्मालम्बी मात्र नभएर विश्व प्राणी जगतका लागि नै दर्शनदाता भएको औल्याए ।
निर्माणाधिन माङहिम परिषरमा आयोजित विशेष जयन्तीमा किरात याक्थुङ चुम्लुङका पूर्व कन्द्रीय उपाध्यक्ष समेत रहेका किरात धर्मका अध्येयता हरि चोङबाङले किरात धर्म,भाषा,लिपी ,संस्कार संस्कृतिसंगै समाज सुधारका लागि महागुरु फाल्गुनन्दको योगदान अतुलनीय रहेको औल्याएका थिए ।
माङहिमका सदस्य भिम केरुङ (चन्द्र) ले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा चुम्लुङ झापाका सल्लाहकार बिष्णु सुब्बा, जितबहादुर राई, माङहिम निर्माण समितिका संयोजक पूर्णकुमार मावो लगायतले महागुरु फाल्गुनन्दको जीवनी माथि चर्चा गरेका थिए ।
माङहिमका अध्यक्ष भिमराज लिम्बूको अध्यक्षतामा भएको जन्मजयन्ती समारोहको सञ्चालन माङहिमकी कोषाध्यक्ष नन्दाकुमारी लिम्बूले सञ्चालन गरेकी थिइन् ।
सो अवसरमा सेवासावा नरसिंह केरुङले पूजापाठ गरेका थिए भने जग्गादाता बुधमाया मावो, फाल्गुनन्द आमा समूहकी सल्लाहकार दिलकुमारी लाओती,माङहिमका पदाधिकारी तथा स्थानीय किरात धर्मावलम्बी,भक्तजनहरुको समेत उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.