माङसेबुङमा मंसिर ११ बाट आत्मानन्द गोल्डकप

इलाम,२४ कार्तिक । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा आगामी मंसिर ११ गतेबाट १४ औ संस्करणको आत्मानन्द गोल्डकप आयोजना हुने भएको छ । लिङ्देनको ६८ औ जन्मोत्सवको अवसरमा मंसिर १७ गते सम्म आयोजना हुने प्रतियोगितामा फुटबल सहित म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, छेलो, धनुकाँड, करातेलगायतका खेल हुने तय भएको हो ।
आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने प्रतियोगितामा फुटबल तर्फ नेपाल र भारतका गरि आठवटा टीम सहभागी हुने जनाइएको छ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, गोधुली क्लब धरान, फिदिम स्र्पोटिङ क्लब पाँचथर र झापा –११, बीबीएफसी दमक, रेडहर्ष इलाम, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्र्पोटिङ क्बल मोरङ सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।
प्रतियोगिताको विजेताले ३ लाख १६८ रुपैयाँ र उप–विजेताले २ लाख १६८ रुपैयाँ हात पार्नेछन् । किरात धर्मगुरुको जन्मोत्सवको अवसरमा २०६५ सालबाट हरेक बर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ । म्याराथनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ ।
म्याराथनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुने धावकलाई नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए ।

Leave a Reply

Your email address will not be published.