सरकारले फेर्‍यो तीन प्रदेश प्रमुख

काठमाडौं, २३ कात्तिक ।सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो।

‘उहाँहरूलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ,’ स्रोतले भन्यो।

प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्। प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। उनी पहिले बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्तिका नेता थिए।

साथै कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।

यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्। उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन्। हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए।
नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी छ। प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख छन्। उनी नेकपा एमालेनिकट हुन्।

सुदूरपश्चिम प्रदेशमा एमालेनिकट गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेकै गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको छ। यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए। त्यसबेला पनि दलहरूले भागबन्डा गरी प्रदेश प्रमुख बनाएका थिए।

राष्ट्रपतिद्वारा ३ प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख ) बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी), कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.