ओखलढुङ्गा, २२ कात्तिक । तीन वर्षीय बालकले खेलाएको लाइटरबाट ओखलढुङ्गाको एउटा घरमा आगलागी भएको छ ।जिल्लाको मोलुङ गाउँपालिका ६ मंसिरेमा कर्मा शेर्पाका छोरा मिङ्मार शेर्पाले खेलाएको लाइटरबाट घरमा आगलागी भएको हो । आगलागीमा परी कर्माका १५ महिने छोरा फुर्वा शेर्पा बेपत्ता भएका छन् ।
कर्मा शेर्पा र उनकी श्रीमती घरमा नभएको समयमा मिङ्मारले लाइटर खेलाउँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए।
घरमा शेर्पाका दुई छोराहरु मात्र भएको समयमा आगलागी भएको प्रहरी निरीक्षक सिंहको भनाइ छ । आगलागीमा बेपत्ता भएका शेर्पाका १५ महिने बालक फुर्वाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगालगीबाट ढुङ्गा माटोले बनेको, ढुङ्गाको छाना भएको दुई तले घर, घरमा रहेको काठपात, भाँडावर्तन, अन्नपात, लत्ता कपडा जल्दा करिब १५ लाखभन्दा बढी क्षति भएको दाबी छ ।