बैंकको चर्को ब्याज विरुद्ध दमकका व्यवसायीहरु सडकमा

दमक, २३ कात्तिक । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली गरिआएको भन्दै दमकका उद्योगी–व्यवसायीहरुले आज यहाँ शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा शुरु भएको आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरुले आज दिउँसो पूर्वपश्चिम राजमार्गको दमक चौंकस्थित आकासे पुल सडकखण्डमा एक घण्टा बढी धर्ना दिएका हुन् । धर्नामा ठुलो संख्यामा स्थानीय उद्योगीव्यवसायीहरुको सहभागिता रहेको थियो । प्लेकार्डसहित उत्रिएका धर्नामा सहभागिहरुले बैकको चर्को व्याजदर घटाउनु पर्ने लगायतका मागहरु समेटिएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलवार ईलाका प्रशासन कार्यालय र दमकका बैंकहरुमा बुझाईएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।
ज्ञापनपत्रमा संघले बैंकहरुले चर्को रुपमा बढाएको ब्याजदरका कारण उद्योग ब्यबसाय धरासयी बनेको तथा आर्थिक मन्दीका कारण सबै क्षेत्र संकटमा रहेका बेला बैंकहरुले भने निरन्तर नाफा बृद्धि गर्दे गएको बिषयलाई नियन्त्रण गर्नु पर्ने लगायतका मागहरु उल्लेख छ । त्यसैगरी बैंकहरुको चर्को ब्याजदरका बिरुद्ध आन्दोलित व्यवसायीहरुले आज कुनै पनि बैंकहरुसंग कारोबार समेत नगरिएको संघकी तृतीय उपाध्यक्ष रमा लिम्बूले बताईन् ।
उनका अनुसार आन्दोलनको कार्यक्रम अनुसार कात्तिक २५ गते मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने, कात्तिक २८ गते नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समिति विरुद्ध दवावमूलक कार्यक्रम आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published.