प्रदेश १ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

झापा, २३ कार्तिक ।प्रदेश नम्बर १ का वन, वातावरण तथा भू -संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। ५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र ( १ ) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए।

उपचारकै क्रममा आज बिहान साढे १० बजेतिर थापाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा थापा एक महिनादेखि बिरामी थिए।

उनलाई सुरूमा डेंगी संक्रमण भएको थियो। पछि उनलाई निमोनियासमेत भएको थियो।उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा केही दिन उपचार गराएर पुनः विराटनगर नै लगिएको थियो। उम्मेदवारकै निधन भएपछि यो क्षेत्रको चुनाव के गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए। थापाका श्रीमती, एक छोरी र एक छोरा छन्।थापाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा केही वर्ष स्वकीय सचिवसमेत भएर काम गरेका थिए।

Leave a Reply

Your email address will not be published.