अंग्रेजी भाषा जान्नु अनिवार्य बन्यो – मुख्यमन्त्री कार्की

-दमकमा नेल्टाको प्रदेश सम्मेलन तथा गोष्ठि शुरु

दमक,२४ कार्तिक । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बदलिँदो परिवेशका कारण नेपालमा पनि अंग्रेजी भाषा जान्नु अनिवार्य बनेको औल्याएका छन् ।
अंग्रेजी भाषाको प्रयोग अब हरेक नेपालीको जनजीवनसँग जोडिन थालेकाले अंग्रेजी जान्नु अनिवार्य जस्तै बनेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
झापाको दमकमा शनिवारदेखि शुरु भएको नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक बिद्यालयहरुले पनि अबका बिद्यार्थीलाई न्यूनतम अंग्रेजी भाषामा बोलीचाली गर्न सक्ने क्षमताको बनाउन आवश्यक भएको औल्याए ।
आफ्नो बिद्यालय तहको पढाई स्मरण गर्दै उनले भने , – ‘म आफू अंग्रेजी भाषामा ठगिएका बिद्यार्थी हुँ । त्यो बेलाको समयनै त्यस्तै ४ कक्षामा बल्ल एबीसिडी सिक्न पाइन्थ्यो । अंग्रेजी माध्यमका स्कूल त गाउँमा छदैैं थिएनन् । जब मैंले माइ नेम इज हिक्मत कार्की भनेर भन्न जानें त्यो बेला पनि निक्कै गर्वानुभूति भएको थियो । अहिले समय बदलिएको छ । ४,५ बर्षको उमेरमा अंग्रेजी भाषामै बोलीचाली गर्ने अभ्यास शुरु भइसकेको छ ।’
विश्वको जुनसुकै ठाउँमा पनि बोलिने अंग्रेजी भाषा अब हामी नेपालीका लागि पनि अनिवार्य भइसकेको बताउदै उनले भाषिक ज्ञान र सीपलाई व्यवहारमा सहि कार्यान्वयन गर्न सकेमात्र देशलाई युग सुहाउदो शिक्षा प्राप्त गर्न मद्दत पुग्ने विचार राखे ।
अंग्रेजी भाषा शिक्षकहरु आफैंमा ज्ञान आर्जनको स्रोत भएको उल्लेख गर्दै उनले यस किसिमका विचार गोष्ठी र सम्मेलनहरुमा हुने अन्तरक्रिया र बहसहरुले आगामी दिनमा अंग्रेजी भाषाको शिक्षण सिकाईमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालको अध्यक्षतामा भएको उद्घाटनमा नेल्टाका पूर्व राष्ट्रिय अध्यक्ष एवं प्राध्यापक डा. गोविन्दराज भट्टराई, काठमाडौं विश्व बिद्यालय शिक्षा संकायका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रीय अध्यक्ष प्रा.डा लक्ष्मण ज्ञवाली, अमेरिकी दुतावासको क्षेत्रीय अंग्रेजी भाषा विभाग प्रमुख रोजर अफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्व अध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौं विश्व बिद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाल लगायतको विशेष उपस्थिति रहेको छ ।
भोलि आइतबार सम्म चल्ने सो गोष्ठीमा कोशी प्रदेशका भरिका विभिन्न विद्यालयका ,कलेज लगायतका शिक्षण संस्थाका अंग्रेजी विषयका शिक्षकहरु गरि करिब पाँच सय जनाको सहभागिता रहेको छ ।
स्थानीय सिदार्थ बोर्डिङ स्कूलमा शुरु भएको सो गोष्ठि शैक्षिक क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय बिषय विज्ञहरुबीच बहस र अन्तरक्रियासहितको यस किसिमको गोष्ठी झापामा पहिलो पटक भएको आयोजकको भनाई छ ।.

Leave a Reply

Your email address will not be published.