झापा,२३ कातिंक । जुवाजन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् । वडा नम्बर ११ ब्यांगडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ४ लाख ५४ हजार ५०० रुपैयाँ र एक बुङ तास बरामद भएको छ ।
पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का सेवराज राजवंशी छन् ।
यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन् ।
यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खडीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र कुँवर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । यसैगरी वडा नम्बर ११ का दिपेन्द्र घिमिरे र निरज दुलाल पनि प्रहरी नियन्त्रणमा छन् ।पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ । रिमालको घरमा तासको खाल राखी हार मारको लागि नगद बाजी राखी तास खेलिरहेको पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।
नजिकको प्रहरीलाई जानकारी नै नदिई दमक प्रहरीले तास खेलिरहेका १८ जनाको समूहलाई पक्राउ गर्नु रहस्य भएको हुन सक्ने आशंका गरिएको छ ।