दमक ,२२ कात्तिक । झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले यस क्षेत्रका नागरिक परिवर्तनको पक्षमा रहेको यसपटक आफुहरुको जित निश्चित रहेको बताएका छन् ।
आज दमक वडा नम्बर ८ को घर दैलो कार्यक्रममा आयोजना गरिएको कोणसभामा बोल्दै डा. अधिकारीले यस अघिको निर्वाचनमा दुई तिहाईको बहुमतसहित एमालेलाई निर्वाचित गराए पनि त्यसलाई सम्हाल्न नसक्ने व्यक्तिलाई अब जनताले जिम्मेवारी नसुम्पने बताए । ईतिहाँसमै शक्तिशाली सरकार बनेको भनेको भए पनि केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण मुलुक अस्थिरतामा फसेको बताउँदै डा. अधिकारीले अब नागरिकहरु स्थिरताको पक्षमा रहेको बताए । आफुहरु जितको नजिक पुगिसकेको बताउँदै उनले अब घोषणा हुन मात्रै बाँकी रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा (२) का उम्मेद्वार गगन पुरीले कांग्रेस र माओवादी मिल्दा मुलुकको द्वन्द व्यवस्थापन भएको साथै दुवै दलको मेलका कारण मुलुकमा संबिधान जारी भएको यस अघिका उदाहरण दिँदै अब कांग्रेस माओवादी, एकीकृत समाजवादी सहितका दलहरुको गठबन्धनले मुलुकलाई बिकासमा अघि बढाउने बताए । यस अघि पटक पटक एउटै व्यक्तिलाई जिताएर पठाए पनि यहाँका नागरिकको अवस्था जहाँको त्यही रहेको भन्दै उनले अब नागरिकहरुले परिवर्तन चाहेको भन्दै गठबन्धनलाई मत दिन आग्रह गरे ।