दमक, २२ कात्तिक । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा चर्को ब्याज असुली विरुद्ध दमकका उद्योगी–व्यवसायीहरु आन्दोलित भएका छन् ।bआन्दोलनका क्रममा यहाँका व्यवसायीहरुले आज ईलाका प्रशासन कार्यालय र दमकमा रहेका बैंकहरुमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अगुवाईमा आजबाट सुरु भएको आन्दोलनको क्रममा आफ्ना मागहरु समेटिएको ज्ञापनपत्र ईलाका प्रशासन कार्यालय र दमकका बैंकहरुमा बुझाईएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए ।
बैंकहरुले चर्को रुपमा बढाएको ब्याजदरका कारण उद्योग ब्यबसाय धरासयी बनेको, आर्थिक मन्दीका कारण सबै क्षेत्र संकटमा रहेका बेला बैंकहरुले भने निरन्तर नाफा बृद्धि गर्दे गएको बिषयलाई नियन्त्रण गर्नु पर्ने लगायतका मागहरु राखेर ईलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डेलाई अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ब्यवासायीले बुझाएको ज्ञापनपत्र बुझ्दै ईलाका प्रशासन प्रमुख पाण्डेले आजै सम्बन्धित ठाउँमा पुरयाँउने प्रतिवद्धता जनाए ।
त्यसैगरी आजै दमकमा रहेका २९ वटा बैंकहरुका शाखा कार्यालयहरु मार्फत ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाईएको बरिष्ठ उपाध्यक्ष गुरागाईंले बताए । बैंकहरुको चर्को ब्याजदरका बिरुद्ध आन्दोलित व्यवसायीहरुले भोलि दमकमा चौकमा रयाली निकादै कुनै पनि बैंकहरुसंग कारोबार नगर्ने कार्यक्रम रहेको संघकी तृतीय उपाध्यक्ष रमा लिम्बुले बताईन् ।
उनका अनुसार आन्दोलनको कार्यक्रम अनुसार कात्तिक २५ गते मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउने, कात्तिक २८ गते नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समिति विरुद्ध दवावमूलक कार्यक्रम आयोजना गरिने छ ।
संघका प्रथम उपाध्यक्ष राजु खड्काले बैंकको ब्याज नियन्त्रणमा नआए आगामी दिन उपभोक्ताका लागि समेत कठिन रहेकाले उद्योगी–व्यवसायीले समयमै पहल लिन खोजेको औल्याए । उनले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्नेतर्फ कसैको ध्यान नगएकोले चुनाव अगाडी नै आन्दोलनमा जानु परेको स्पष्ट पारे ।