फाल्गुनन्द सहकारीको बार्षिक प्रतिवेदन सार्वजनिक

दमक, २१ कार्तिक । दमक- ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
संस्थाले आज औपचारिक कार्यक्रम गरि संस्थाका प्रमुख सल्लाहकार जगनसिंह सेन जवेगु, संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प)सहित सञ्चालक समितिका पदाधिकारी,सदस्यहरुले संयुक्त रुपमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रतिवेदन सार्वजनिक गदैं अध्यक्ष पदम (संकल्प) लिङदेनले संस्थाको गतिविधिका विषयमा प्रकाश पारेका थिए । संस्थाले गत आर्थिक बर्ष २०७९÷०८० मा मुलुकमा आएको आर्थिक मन्दीको प्रभावका बाबजुद सन्तोषजनक कारोबार गर्न सफल भएको कार्यक्रममा जानकारी दिइयो ।
प्रतिवेदनमा सहकारी मूल्य मान्यता र सिद्धान्त भित्र रहेर लक्षित वर्गहरुको आर्थिक गतिबिधिमा सघाउँदै सरसफाई, हाम्रो शहर हरित नगर कार्यक्रम अनुरुप एक घर एक वृक्षारोपण, बालबालिकाको पोषणयुक्त खानपान, सामाजिक मेलमिलाप सम्बन्धीका सामाजिक कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।
२० बर्ष पूरा गरेका सदस्यहरुको स्वास्थ्य जाँच (होलबडी ) मा नगद ५ हजार सुविधा दिने, कर्जाको बीमा अनिवार्य गरिने, मृगौला, पत्थरी, महिलाको पाठेघरको अप्रेशन सम्बन्धि र पुरुषको प्रोस्टेटको अप्रेशनमा नगद ५ हजार दिने, स्वरोजगार कार्यक्रम मार्फत न्यून आय भएका सदस्यहरुलाई न्यून ब्याजदरमा ४२ महिने ऋण लगानी गर्ने लगायतका लोकप्रिय योजना तथा कार्यक्रमहरु प्रस्ताव गरिएको संस्थाका कार्यकारी प्रमुख दिलीप जवेगुले जानकारी दिए ।
संस्थाले दमकसहित इलामको चुलाचुली, झापाको विर्तामोड र झिलझिले तथा मोरङको उर्लाबारीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुमाझ कारोबार गर्दैै आएको छ । सो संस्थामा हाल शेयर सदस्य संख्या २ हजार २ सय ४५ जना छन् । संस्थाका अध्यक्ष लिङदेनका अनुसार कार्तिक २२ गते विर्तामोड,२३ गते झिलझिले, २४ गते उर्लावारीमा इकाइगत साधारण सभा गरी यहि मसिंर ५ गते माइन्यूट प्रमाणिकरण तथा निर्णय एकीकृतसहित दमकको पशुपति सेवा सदनमा साधारण सभाको समापन गर्ने कार्यक्रम छ ।समापनका अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मानसहित विभिन्न पुरस्कारहरु समेत वितरण गरिने जनाइएको छ ।
प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका प्रमुख व्यवस्थापक कुवेर तुम्बापो, संस्थाकी उपाध्यक्ष फूलकुमारी आङदेम्बे, कोषाध्यक्ष इक्सा सम्बाहाम्फे, सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, सुवास आचार्य,मनकुमारी पन्दाक, लेखा संयोजक बीरबहादुर लाओती, सदस्य शक्ति कुमार साबा ,लगायत सञ्चालक ,कर्मचारी,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.