झापा,२१ कार्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएका अधिकारीलाई मुख्यमन्त्री कार्कीले राजीनामा दिन निर्देशन दिएपछि आजै राजीनामा दिएका हुन् ।
मुख्यमन्त्रीले पदीय मर्यादा विपरित र गैरकानुनी रुपमा विदेश भ्रमणमा गएको भन्दै पद छाड्न निर्देशन दिएका हुन् । मुख्यमन्त्रीको निर्देशनपछी अधिकारीले आज बिहान निवासमै पुगेर राजीनामा बुझाएका हुन् ।
अधिकारीको राजीनामा स्वीकृत भैसकेको छ । राजीनामा दिएपछि अहिले उनी पत्रकार सम्मेलन गरेर बिदा हुन मन्त्रालय पुगेका छन् ।वैदेशिक भ्रमणमा प्रदेश सरकार मात्र नभएर संघीय सरकारले पनि अनुमति दिनुपर्ने व्यवस्था छ । तर, त्यसलाई वेवास्ता गर्दै मन्त्री अधिकारी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो महानगरपालिकाको कार्यक्रममा गएको भनिएपनि कार्यक्रम नभएको र उनी १७ गते स्वदेश फर्किएका थिए।
जापान गएको विषयमा अधिकारीले स्वीकार गरेका छन् । ‘एउटा कार्यक्रम थियो । टोकियो महानगरपालिकाको कार्यक्रममा म गएको हुँ । सरकारीस्तरबाट होइन’ उनले भनेका छन्, ‘म व्यक्तिगत हिसावले गएको हुँ । आफ्ना, आफन्त, इष्टमित्र भेटघाटको लागि गएको हुँ ।’ टोकियो महानगरपालिकाको कार्यक्रममा गएको बताएका अधिकारीले व्यक्तिगत भेटघाटमा गएको दावी गरेका छन् ।
अधिकारीले सबै प्रक्रिया पुरा गर्नका लागि समय नपुगेको जिकिर गर्दै आएका छन् ।मुख्यमन्त्रीलाई आफ्नो विदेश भ्रमणबारे जानकारी दिन नभ्याएको अधिकारीले बताएका थिए । २०७९ भदौ २३ गते संघीय सरकार मन्त्रिपरिषद्को कार्यालयले सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई पत्राचार गर्दै मन्त्री तथा कर्मचारीको विदेश भ्रमणलाई कडाई गरेको थियो ।