बीएण्डसीको समाचारमा पत्रकार घिमिरेलाई धम्की , महासंघको ध्यानाकर्षण

 

झापा , २० कात्तिक । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ झापाले जनाएको छ ।

पीडित पत्रकारका अनुसार बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईले बीएण्डसी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेस गरेर अस्पताल सञ्चालनको अनुमति लिएको भन्ने विषयमा सगरमाथा टेलिभिजनलगायतका सञ्चारमाध्यममा प्रसारित समाचारको विषयलाई लिएर विजयसिंह थापा, सरोज रिजाल भन्ने फेसबुक आइडीबाट पत्रकार घिमिरेकोे फेसबुक म्यासेज बक्स तथा समाचार लिंक पोष्ट भएको फेसबुक पेजको कमेन्ट बक्समा अश्लील गालीगलौजसहित पत्रकार घिमिरेलाई भौतिक कारबाहीको धम्की दिइएको घटना प्रति महासंघको ध्यानकर्षण भएको उल्लेख छ ।

त्यस्तै दुर्गा प्रसाईं समर्थक नामको फेसबुक पेजबाट पत्रकारलाई पेशाप्रति हतोत्साही बनाउने विभिन्न सामग्री पोष्ट गरिएकोप्रति पनि आफनो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

महासंघले पत्रकारलाई असुरक्षित बनाउने गरी धम्की दिइएको यस घटनालाई गम्भीर रूपमा लिई धम्की दिने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

महासंघका सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा एउटा सञ्चारमाध्यममा आएको समाचार अर्को सञ्चारमाध्यमले खण्डन गर्ने कार्य पत्रकारिताको आचारसंहिताविपरीत हुने कुरा सबैलाई जानकारी भएकाले प्रकाशित प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझेमा त्यस विषयको खण्डन सम्बन्धित सञ्चारमाध्यममार्फत नै गर्नुपर्ने वा सम्वन्धित पक्ष कानुनी उपचारमा जान पाउने स्पष्ट व्यवस्था रहेकोले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा केही व्यक्तिले पत्रकारिताबारे समाजमा भ्रम र वितृष्णा जगाउने कार्य गरेकाले त्यस्तो कार्यसमेत तत्काल बन्द गर्न ,गराउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published.