झापा, १८ कार्तिक । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।स्थानीय तहहरुले संकलन गरेको विवरणमा भने मृतकको संख्या अझै बढी देखिएको छ ।
नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।जाजरकोटको भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका धेरैको मृत्यु भएको छ । जाजरकोटमा घाइतेमध्ये २२ जनालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको छ भने अन्यको जिल्लामै उपचार भइहरेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १४ मा मात्र २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडाको बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको हो । रुकुम पश्चिमका घाइतेमध्ये ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको छ भने १० जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भुकम्पपछिको खोज तथा उद्धारको काम जारी छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।