-नलगाढकी उपप्रमुख सिंहको मृत्यु
झापा,१८ कार्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए ।घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पतालमा उपचारका लागि थेग्न नसकेपछि केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।
रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।
रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।
नलगाढकी उपप्रमुख सिंहको मृत्यु
गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।