निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै

झापा, १८ कार्तिक । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ ।चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो ।

वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पालिकामार्फत हरेक वडामा खटाउने छन् । मतदाता शिक्षाका लागि जिल्ला जिल्लामा सामग्री पुगिसकेका छन् । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।
एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ ।निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ ।आयोगले निर्वाचनका लागि कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ ।

Leave a Reply

Your email address will not be published.