
उर्लावारी,१८ कार्तिक । यात्रुबहाक बसको ठक्करबाट मोरङको उर्लाबारीमा आज दिउँसो स्थानीय शिक्षासेवी नरेन्द्रकुमार ढुंगानाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको उर्लाबारी ४ आइतबारे चौकस्थित सडकखण्डमा पश्चिमतर्फ जाँदै गरेको को १ ख ७८२८ नम्बरको भुल्केदेवी यातायातको बसले दिउँसो १ वजे तिर विपरीत दिशाबाट आउदै गरेको प्रदेश १ ०२०४१प ४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ त्यसमा सवार उर्लावारी ४ निवासी ६५ बर्षिय मोटरसाइकल चालक ढुंगानाको घटनास्थलमानै मृत्यु भएको हो । ठक्क्र दिने बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटना पछि पीडितका आफन्तले सडकमा शव राखेर दिनभरि अवरुद्ध गरेका छन् । मृतक ढुंगाना उर्लाबारीस्थित सुनपकुवा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा भुकुटी मोडल एकाडेमीका संस्थापक हुन ।