मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण

गौरादह,१८ कार्तिक। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभसाइतमा बहिनीहरूबाट भाइटीका ग्रहण गरेका छन् । झापा,गौरादह तीनस्थिति निवासमा बहिनीहरूबाट उनले टीका ग्रहण गरेका हुन् ।
बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दीपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गरेका थिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छन् ।
मुख्यमन्त्री कार्कीले टीका ग्रहणसँगै नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वले पहिचानलाई स्थापित गर्ने बताउँदै उनले यस्ता संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।
संस्कृति र परम्पराको संरक्षणमा मुख्यमन्त्री कार्कीको जोड
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन् ।
मुख्यमन्त्री निवासमा आज मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठुलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखी एक सूत्रमा बाँध्न सहयोग पुगेको बताए ।
उनले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ घोषणाबाट प्रदेशमा आर्थिक चलायमान, रोजगार वृद्धि तथा नागरिकको जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री कार्कीले ती कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्न पत्रकारहरुसमक्ष आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी झापाको काँकडभिट्टा र विराटनगरको पर्यटकीय क्षेत्रका सम्पूर्ण पक्षसहितको जानकारी दिन सूचना केन्द्र स्थापना गरिने उनले बताए । प्रदेश सरकारले अघिसारेको पर्यटन वर्ष, लगानी र चिया सम्मेलन प्रदेशकै गौरवको विषय भएको मुख्यमन्त्री कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.