नक्कली नेपाली नोटसहित झापामा ६ जना भारतीय पक्राउ

झापा, १७ कात्तिक । एक हजारको नक्कली नोटसहित ६ जना भारतीय झापामा पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ पर्नेहरूमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेका छन् ।

झापा गाउँपालिका–१ स्थित सितापुरीमा भारतीय नम्बर प्लेट भएका दुईवटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको उनले जानकारी दिए ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए। भारतबाट नेपाली नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । नक्कली नोटमा अन्जर आलम नै संलग्न भएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published.