तुलसी बिबाहमा झापाका चार पालिकामा सार्वजनिक बिदा

दमक ,१७ कार्तिक । झापाका चार वटा स्थानीय तहले भोलि शुक्रवार सार्वजनिक विदा दिएका छन् ।आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको हो ।
चारवटै पालिकाले बिहीबार सूचना प्रकाशन गरी बिदाको बारेमा जानकारी गराएको हो । बिदामा नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालयहरु बन्द रहने सूचनामा उल्लेख छ ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो ।त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published.