
विराटनगर, १४ कात्तिक । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेती पानीको स्रोत सुक्न थालेसँगै थप सङ्कटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमेको पानीको आवश्यक पर्दछ तर पछिल्ला वर्षमा जमेको पानी अभाव हुँदा खेती गर्ने किसानले थप समस्या बेहोर्नुपरेको हो ।
मोरङ धनपालथान गाउँपालिका–६, बबियाविर्ताका कृषक उमालाल रायका अनुसार रेसा छुट्याउने झन्झटिलो कामका लागि पानीको अभाव हुन थालेको छ । पहिले एक बिघा क्षेत्रमा जुट खेती गर्दै आउनुभएका राय अहिले विविध समस्याका कारण तीन कट्ठामा मात्रै खेती गर्न थालेको बताउनुहुन्छ । यस पटक भने कात्तिकमा प्रशस्त पानी पर्दा जुटबाट रेसा छुट्याउन सहज भएको उनले बताए ।
जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छा सरकारले ध्यान नपु¥याउँदा जुट बाली क्रमशः घट्दै गएको बताउछन् । किसान, मजदुर, उद्योगी तीन क्षेत्र लाभान्वित हुने, वातावरणीय दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पार्ने निकासीजन्य वस्तुको उत्पादनमा प्रोत्साहन नभएको अरिहन्त मल्टिफाइबर्सका सञ्चालकसमेत रहनुभएका उद्योगी गोल्छाको गुनासो छ ।
पूर्वका तीन जिल्ला मोरङ, सुनसरी, झापामा विशेष खेती हुने जुट २० हजार हेक्टरमा उत्पादन हुँदै आएको छ तर पछिल्लो समय पानी अभाव हुँदै जाँदा खेती थप सङ्कटमा परेको छ । सरकारले जुट विकास बोर्डको विघटन गरेपछि त्यसताका खनिएका पोखरीसमेत नासिएका छन् । त्यसको संरक्षण अभाव हुँदा पोखरी पुरिएकाले अहिले किसान थप समस्यामा रहेका हुन् ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ११ जुट उद्योगमध्ये पाँचवटा रघुपति, बाबा, अरिहन्त, नेपाल जुट र स्वस्तिक उद्योग मात्र सञ्चालनमा छन् । यी उद्योगलाई आवश्यक पर्नेमध्ये ३५ प्रतिशत कच्चा मात्रै नेपालमा उत्पादन हुने गरेको जुट उद्योग सङ्घका अध्यक्ष गोल्छाले जानकारी दिए । बाँकी आवश्यक कच्चामध्ये ५० प्रतिशत भारतबाट र १५ प्रतिशत बङ्गलादेशबाट आयात गरिँदै आएको छ । उद्योगी गोल्छाका अनुसार भारत र बङ्गलादेशबाट आयात गरेभन्दा नेपाली जुटको मूल्य बढी छ । नेपालमा अहिले प्रतिक्विन्टल ११ हजारले जुट बिक्री हुँदै आएको छ ।
उद्योगी गोल्छाले बङ्गलादेशमा जुट बाली विकासका लागि जुट मन्त्रालय नै रहेको र भारतमा जुट कमिस्नर रहेको बताए। नेपालमा जुट विकास बोर्ड विघटन गरेपछि त्यसको प्रभाव खेतीमा परेको हो ।
जुट अनुसन्धान कार्यक्रम इटहरीका प्रमुख तीर्थ रिजालका अनुसार कृषकले दुई टन नेपाली बीउको खेती गरेका छन् । त्यसबाहेक भारतबाट आयत गरिएको बीउ प्रयोग गरिएको छ । खेती विकासका लागि किसानले रेसा छुट्याउने पानीको अभाव हुने गरेको गुनासो गर्ने गरेका प्रमुख रिजालले बताए ।
चार दशकअघिको सरकारी तथ्याङ्कले मोरङमा मात्रै ६० हजार हेक्टर क्षेत्रफल जमिनमा जुट खेती भएको देखिन्छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार सरकारी प्रोत्साहन र किसानले पाउने जुटको मूल्य स्थिर नहुँदा खेती खस्कन थालेको छ । प्रविधि र उन्नत बीउबिजनलाई प्रोत्साहन दिन सके जुट बालीको प्रशस्त सम्भावना रहेको प्रवक्ता उप्रेतीको बुझाइ छ ।
किसान भने जुट पाकेपछि त्यसको सन्ठीको संरक्षण गर्न चाहन्छन् । सन्ठीलाई दाउराका रूपमा प्रयोग गर्ने तराईवासीले जुट खेतीमा भइरहेको बेवास्तालाई चिन्ताका रूपमा लिन थालेका छन् । खेतीसँगै उद्योग बन्द हुँदा त्यसको प्रभाव निकासीमा समेत परेको देखिन्छ ।
उद्योगी गोल्छाका अनुसार गत आर्थिक वर्ष दुई अर्बको जुटको कच्चा आयात भएको थियो । नेपालबाट चार अर्बको जुट निकासी भएको थियो । उत्पादनमध्ये ५ प्रतिशत जुटका सामग्री मात्रै नेपालमा खपत हुने गरेको छ । नेपालमा खपत बढाउन भारतमा जस्तै खाद्यान्नको प्याकेजिङमा जुट प्रयोगलाई अनिवार्य गरिनुपर्ने उद्योगी गोल्छाको बुझाइ छ ।