झापा, १२ कार्तिक । कोशी प्रदेशमा दसैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ भने २६५ जना घाइते भएका छन् ।कात्तिक ५ गते फुलपातीका दिनदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
यस अवधिमा १३५ वटा सवारी साधन दुर्घटनामा परेका थिए भने ती दुर्घटनामा परेर ४१ जना गम्भीर र २२४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दसैँमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरि ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना समेत संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७९-०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भिर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा कमी आए पनि मृत्यु हुने संख्यामा भन कमी नआएको प्रहरीले जनाएको छ ।