
दमक, १२ कात्तिक । मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताए ।
उनका अनुसार सहकारी संस्थाका किसानको २४१ बोरा र अन्य विभिन्न स्थानमा सङ्कलन भएको १ हजार ३ सय बोरा आलु कुहिएको छ । एक दशकदेखि सोही शीत भण्डारमा बीउ आलु भण्डारण गर्दैआएका किसान पहिलो पटक यस्तो समस्या आएको बताए ।
चैतको दोस्रो साता किसानसँग प्रतिबोरा ४७५ रुपियाँ लिएर सहकारी संस्थाले आलु भण्डारणको जिम्मा लिएको थियो । किसानले आलु रोप्न बारी तयार गरेपछि सहकारी संस्थाले शुक्रबार बीउ आलु ल्याएको थियो । आलुका सबै बोरा फुटेका, आलु कुहिएको पाइएको छ । आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका छन् ।
एक साताअघि आएका अविरल वर्षाले धानमा पुगेको अपुरणीय क्षति बिर्सिन नपाउँदै आलु कुहिएपछि किसान तनावमा परेका छन् । स्थानीय देवीभक्त भट्टराईले भने – “किसान मारमा परेका छन् । अहिले बजारमा बीउ आलु प्रतिकेजी ६० रुपियाँ पर्छ । आधाभन्दा बढी आलु काम नदिने अवस्थामा आएको छ । यसको क्षतिपूर्ति कसले दिने हो ?”
स्थानीय मातृभूमि कृषि सहकारी संस्थाको स्थापना नै किसानको बीउ आलु भण्डार गर्ने उद्देश्यले भएको थियो । २०५२ सालमा तत्कालिन बयरवन ९ र ८ का किसानले आलु समूह गठन गरेर गाउँका किसानको आलु बिराटनगर लगेर राख्ने गरेका थिए । त्यही आलु समूह कृषि सहकारीमा रुपान्तरण भएपछि हालको गाउँपालिका भरिका किसानको आलु सहकारीकोे समन्वयमा भण्डारण हुँदैआएको छ ।
५० केजीका आलुका बोरामा २५ केजी आलु उमार शक्ति भएको भेटिन्न । कानेपोखरी–७ का किसान पदमप्रसाद कोइरालाले भने – “संस्थामार्फत राखेको आलुको क्षतिपूर्तिका लागि सहकारीले पहल गर्नुपर्छ । हामी किसान सहयोग गर्न तयार छौं ।”
उता दमकस्थित शान्ति शीत भण्डारका ब्यवस्थापक खेम काफ्लेले शीत भण्डारको २० प्रतिशत आलु बिग्रीएको स्वीकारे । उनका अनुसार २ हजार क्वीन्टल आलु भण्डारण भएकोमा ४ सय क्वीन्टल आलु कुहिएको छ ।
उनले बिद्युत प्रशारण रोकिएर आलु कुहिएको किसानको भनाईप्रति असहमति जनाए । उनले कुनै दिन विद्युत आपुर्ति नरोकिएको भन्दै यो वर्ष विर्तामोड, विराटनगर, काठमाडौं, पाल्पा र चतराको कोल्डस्टोरमा पनि आलु कुहिएको बताए । १४ वर्ष यता पहिलो पटक समस्या आएकोले कृषि ज्ञान केन्द्र र आलु विज्ञ, बैज्ञानिकसँग पनि परामर्श र छलफल भइरहेको काफ्लेले बताए ।
उनले किसानलाई ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने समेत बताए । उनले भने, –‘हाम्रो पनि ब्यापार हो । किसानलाई क्षतिपूर्ति दिन्छौं र विज्ञहरूसँग छलफल पछि उहाँहरूले दिएको सुझाव कार्यान्वयन गरेर आलु भण्डारण गछौं ।’