दमक, ११ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन प्रचार अभियानका लागि आजबाट चारदिनका लागि झापा आउदै छन् । भद्रपुरमा आयोजना हुने कार्यक्रम सहित गरेर अध्यक्ष ओलीले १३ वटा स्थानीय स्तरका भेला र भेटघाटहरुमा सहभागी हुने एमाले पोलिटव्यूरो सदस्य एवं झापा ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।
उनका अनुसार आज २ बजे भद्रपुरमा अवतरण गरेर स्थानीय सिटी गार्डेन होटलमा आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त भेलालाई अध्यक्ष ओलीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । दाहालका अनुसार अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक वडा नं ५,८ र ९ र ५ बजे दमकस्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी भोली अर्थात कात्तिक १२ गते दमक वडा नं ३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसैगरी कमल गाउँपालिकाको बाह्रघरेमा आयोजना हुने मतदाता तथा कार्यकर्ता भेलामा दिउसो १२ बजे अध्यक्ष ओली सहभागी हुने कार्यक्रम छ । भोली नै दमकको दिउसो २ बजे वडा नं ९ र १० को संगम चोकमा आयोजना हुने भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै अपरान्ह ४ बजे दमक वडा नं १ र २ का स्थानीय बासिन्दाहरुसँग हिमालय माध्यमिक विद्यालयमा अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
पोलिटव्यूरो सदस्य दाहालका अनुसार कात्तिक १३ गतेका कार्यक्रम गौरादह र गौरीगञ्ज केन्द्रीत छन् । जसअनुसार विहान ११ बजे दामुना बजारमा आयोजना हुने भेला तथा अन्तरक्रियालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्। दिउसो १.३० बजे गौरादहको हाँसखोरा, २.३० बजे पुरानो ग्वाल्डुबा बजार, ३.३० बजे जुरोपानी चोक शिवालय सभाहलमा रअपरान्ह ४.३० बजे गौरीगञ्जमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए।
यसैगरि, कात्तिक १४ गते विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली त्यसैदिन काठमाडौं फर्कने कार्यक्रम रहेको छ।