ताप्लेजुङ, १० कात्तिक । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन अर्थात् आज बिहीबार बिहान बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घरमा आगलागी भएको हो ।
बिहान करिब ११ बजेतिर अचानक भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले जानकारी दिए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका अन्य सामग्री जलेर नष्ट भएको छ । अनुमानित १५ लाख रुपियाँ बढीको क्षति भएको हुनसक्ने वडाध्यक्ष तामाङको भनाइ छ । क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए।
आगलागी नियन्त्रणमा लिन आगलागी भएको घरसंगै रहेका अन्य केही घर भने जोगाउनलाई स्थानीयहरू सफल भएका छन् ।