दमक ,९ कार्तिक । झापाको दमक नगरपालिका वडा न. ८ सरस्वती टोलस्थित रविन खड्काको घरमा आज अपरान्ह आगोलागी हुदाँ लाखौंको क्षति भएको छ ।
घरमा कोहि नभएको बेला अचानक विद्युत सर्ट भई सेन्टर बेराको टाडे काठे घरमा आगोलागी हुदाँ घरसहित सम्पूर्ण सरसमानहरु जलेर नष्ट भएको थियो । क्षतिको थप विवरण खुल्न सकेको छैन् ।
आगोलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथैं घरमा राखिएका अन्नपात,गरगहना लगायतका सरसमानहरु नष्ट हुन पुगेको दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहालले जानकारी दिए । आगोलागीबाट करिव ५० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनले आगलागी कमल गाउँपालिकासहित गौरादह र उर्लावारी नगरपालिकाका गरि तीन वटा बारुणयन्त्र ,प्रहरी, स्थानीयहरुको सहयोगबाट करिव १ घण्टा लगाएर नियन्त्रणमा आएको बताए ।
गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा दमक नगरपालिकाको बारुणयन्त्र आगजनी गरेपछि आगोलागी लगायतका घटनामा बारुणयन्त्र नहुदाँ थप क्षति व्यहोर्नु पर्ने अवस्था आएको वडाध्यक्ष दाहाल बताउँछन् ।