
धरान,८ कार्तिक । दुई दशकदेखि हङकङमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।
गाडी रोकेर दिसापिसाब गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
नेपालमा घुमफिर गर्ने क्रममा राई पछिल्लो समय पुर्ख्यौली जिल्ला ओखलढुङ्गाबाट भोजपुर जाँदै थिए। परिवारका सदस्यहरूका अनुसार हालै मात्र नेपाल सरकारबाट पदक पाएका राई त्यही ग्रहण गर्ने क्रममा नेपाल गएका थिए। त्यसलगत्तै उनी साथीहरूसँग मुस्ताङ लगायतका हिमाली जिल्ला घुम्न निस्केका थिए।
धरानका राई लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्। हङकङबाट राईले करिब दुई दशकदेखि नेपाली भाषाको एभरेष्ट पत्रिका प्रकाशित गर्दै आएका छन्। हङकङस्थित नेपाल पत्रकार महासंघको अध्यक्ष रहेका राई यहाँ करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका छन्।