निरौला हत्या प्रकरण : ७ जना विरुद्ध किटानी जाहेरी

दमक ,८ कार्तिक । झापाको दमक नगरपालिका वडा न. ९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नता हुनेको संख्या ७ पुगेको छ । पीडित परिवारले ती सातै जना विपक्षी बिरुद्ध इलाका प्रहरी कार्यालय दमकमा कर्तव्य ज्यान कसुर सम्बन्धी जाहेरी दिएका छन् ।
बुधबार ६ जनाको किटानी जाहेरी परेपनि आज पुनः सिसी फूटेजको प्रमाणको आधारमा दमक ८ का नम चेम्जोङको संलग्नता देखिएपछि उनको समेत नाम समावेश गरि जाहेरी दिएको पीडित परिवारको भनाई छ ।
मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले दिएकी सो जाहेरी प्रहरी कार्यालयमा दर्ता नम्बर १०९ रहेको छ । उनको जाहेरीमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा दमक ३ दुम्से बस्ने राजु भनिने शेरबहादुर नेम्वाङ लिम्बू संखुवासभा स्थायी ठेगाना भएका दमक ३ दुम्से बस्ने गणेश दर्जी, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी ७ का ध्रुव गौतम, दमक ८ का बुद्धिमान थापा,सोहि वडाका नम चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेलाई विपक्षी बनाइएको छ । उनीहरु मध्ये दुई जना प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । अन्य आरोपी फरार छन् । किटानी जाहेरीमा मुख्य अभियुक्त राजु भनिने शेरबहादुर नेम्वाङ लिम्बू देखिएपनि त्यसको योजनाकार भने दमक ८ का बुद्धिमान थापा भएको समाचार स्रोतको दावी छ ।
थापा, नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद होमबहादुर थापाका भाई, पार्टी केन्द्रीय सदस्य गोविन्द थापाका दाजु मात्र नभएर एमाले झापाका इन्चार्ज समेत रहेका दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीका सालो हुन् । त्यही उठबसका कारण उनले राजनीतिक पहुँचमा अपराधिक गतिविधिहरु गरिआएको दावी छ ।
प्रहरीलाई माथिल्लो तहबाट आउने ठाडो निर्देशनकै कारण पनि घटना भएको तीन दिन वित्दा समेत प्रहरी प्रभावकारी रुपले प्रहरी परिचालित नभएको बुझिएको छ । यतिका दिन वितिसक्दा समेत प्रहरीले अभियुक्त पक्राउ गर्न चासो नदिएको भन्दै जनस्तरबाट दबाव दिन दिनहुँ जसो पीडितहरु प्रहरी कार्यालयमा प्रर्दशन गरिआएका छन् । हत्या प्रकरणमा दोषी माथि कडा सजाय दिलाउने प्रतिवद्धता नआएसम्म पीडित परिवारले शव बुझन अस्वीकार गरिआएका छन् ।
सो हत्या प्रकरणमा जोडिएका पहिलो किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न नमानेका कारण प्रहरीमाथिनै शंका उत्पन्न गराएको थियो । जाहेरी दर्ता गरे पनि उनीहरुलाई पक्राउका लागि आवश्यक प्रकृया अघि नबढाएको आफूहरुलाई शंका जन्माएको मृतक निरौलाका नातेदार काका यज्ञराज निरौलाले बताए ।
निरौलालाई जग्गा सम्बन्धी विवादमा दमक ३ मावा पुल नजिकै सडकमा मंगलवार दिउँसो ४ वजे करिब ८-१० जनाको समूहकै बीच दुई जनाले मुक्का हानेको दृश्य सीसी क्यामेरामा देखिएको छ । सो लगत्तै उनको आम्दा अस्पताल पुरयाँउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.