निरौलाको हत्यामा संलग्नलाई कानुनी कारवाही गर्न दलहरुको माग

दमक ,९ कार्तिक । झापाको दमक नगरपालिका वडा न. ९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न स्थानीय राजनीतिक दलका नेतृत्वहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेस , नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी,जसपा ,रास्वपा, एकीकृत समाजवादीका नगर नेतृत्वले अलग –अलग विज्ञप्ति निकालेर हत्या प्रकरणमा संलग्न दोषीहरुमाथि सुक्ष्म अनुसन्धान गरेर तत्काल कारवाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँद्धारा हस्ताक्षरित विज्ञप्तिमा बाँच्न पाउने नागरिकको अधिकारको सुरक्षा गर्न माग गरिएको छ । कांग्रेसले विज्ञप्ति मार्फत घट्नास्थलमा सिसी क्यामेरा समेत रहेका कारण सो फुटेज समेतको अनुसन्धान गरि संलग्न अपराधीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
त्यसैगरी नेकपा एमालेका दमक नगर कमिटी अध्यक्ष राम पौडेलले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तिमा उक्त व्यक्ति हत्या कार्य सर्वत्र निन्दनीय भएको उल्लेख गरिएको छ ।
‘घट्नाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याई प्रचलित कानुन बमोजिम कारवाही गर्न सम्बन्धित पक्षसँग जोड माग गर्दछौं–विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका तर्फबाट इञ्चार्ज बेदु गौतम र अध्यक्ष कूलबहादुर बस्नेतले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा नगर क्षेत्रको व्यस्त स्थानमा नागरिकको हत्या हुनुले स्थानीय शान्ति सुरक्षाको दुरावस्था छर्लङग भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा हत्या प्रकरणको सत्यतथ्य तुरुन्त सार्वजनिक गरि घट्नामा संलग्न अपराधीहरुलाई जुनसुकै आवरणमा छोपिएको भएपनि बिना कुनै दबाब र प्रभावमा नपरि तुरुन्तै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम सजाय दिलाउन माग गरिएको छ ।
यसैगरि,नेकपा एस दमक नगर कमिटीका अध्यक्ष हरिप्रसाद नेपालले शुक्रवार विज्ञप्ति निकालेर निरौला हत्या प्रकरणमा संलग्न सवैलाई खोजी गरि कारवाही गर्न माग गरेका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर अध्यक्ष हेम सुवेदीले हस्ताक्षरमार्फत जारी विज्ञप्तिमा यो घटना अत्यन्तै गम्भिर प्रकृतिको भन्दै जघन्य अपराधीलाई पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
गत मंगलबार दमक- ३ स्थित मावा पूल नजिकै दिनदहाडै त्यहाँस्थित जग्गा उपयोगका बिषयलाई लिएर दुई समूहबीच चर्काचर्की हुँदा कुटपिट र ढुंगा प्रहारबाट निरौलाको हत्या भएको थियो । घट्नाको आज चार दिन बितिसक्दा पनि प्रहरीले कुटपिटमा प्रत्यक्ष संलग्नहरुलाई पक्राउ गरेको छैन् ।
निरौला परिवार , आफन्तहरु र शुभचिन्तकहरु हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै दुई दिनदेखि निरन्तर प्रहरी कार्यालयमा दबाब र प्रदर्शनमा उत्रिरहेका छन् ।
मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएका मध्ये केही सत्तारुढ नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोता भित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने पीडित परिवारको अनुमान छ ।
इलाका प्रहरी कार्यालय दमकमा मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ७ जनाको किटानी जाहेरी दिएकी छन् । सो जाहेरी प्रहरी कार्यालयमा दर्ता नम्बर १०९ रहेको छ । उनको जाहेरीमा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा दमक -३ दुम्से बस्ने राजु भनिने शेरबहादुर नेम्वाङ लिम्बू संखुवासभा स्थायी ठेगाना भएका दमक- ३ दुम्से बस्ने गणेश दर्जी, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी- ७ का ध्रुव गौतम, दमक- ८ का बुद्धिमान थापा,सोहि वडाका नम चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेलाई विपक्षी बनाइएको छ । उनीहरु मध्ये दुई जना प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । अन्य आरोपी फरार छन् ।
थापा, नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद होमबहादुर थापाका भाई, पार्टी केन्द्रीय सदस्य गोविन्द थापाका दाजु मात्र नभएर एमाले झापाका इन्चार्ज समेत रहेका दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीका सालो हुन् । थापाले राजनीतिक शक्तिको फाइदा उठाउदैं आएका छन् ।

Leave a Reply

Your email address will not be published.