दमक,८ कार्तिक । वडादशैका उपलक्ष्यमा झापाको कमल गाउँपालिका ५ मंगलवारे वजारमा आज बुधबार एकादशी मेला लाग्ने भएको छ ।एकादशीका दिन हरेक बर्ष लाग्दैआएको एकदिने सांस्कृतिक मेलालाई यसवर्ष पनि निरन्तरता दिईएको आयोजक सगुन युवा क्लवले जनाएको छ । तराईका लोपोन्मुख सन्थाल जातिको संस्कृतिकमूलक नृत्यको विशेष प्रस्तुति रहने यस मेलाको सम्पूर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष देवी आङ्गदेम्बेले जानकारी दिए ।
उनका अनुसार मेलामा सन्थालको प्रतियोगितात्मक नृत्यको विशेष प्रस्तुति तथा विभिन्न खेलतमासा ,व्यवसायिक उपजहरुको समेत स्टलहरु रहने छन् । प्रतियोगितात्मक सन्थाल नृत्यमा झापा, मोरङ्ग तथा भारतको सिमावर्ती क्षेत्रबाट एक दर्जन नृत्य टोलीको सहभागिता रहने उनले बताएका छन् । प्रतियोगितामा विजेता प्रथम, दोश्रो र तेश्रो हुने टोलीलाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।
टिकाको भोलिपल्ट एकादशीका दिन बर्षोदेखि लाग्दै आएको यस मेला क्लवसहित स्थानीय दुर्गा मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा लाग्दैआएको क्लवका सचिव रोशन दाहालले बताए ।