दमक,८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकले २८ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
बुधबार आफनै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि संस्थाले बार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष रवि केसीसहित कार्यसमिति ,लेखा समितिका पदाधिकारी र सदस्यहरुले सामूहिक रुपमा प्रतिवेदन पुस्तिका सार्वजनिक गरे । संस्थाको शुक्रवार स्थानीय दुर्गा मन्दिरमा साधारणसभा हुदै छ । संस्थामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेपछि नीतिगत तथा प्रत्यक्ष रुपमा उपभोक्ता हितका लागि काम गर्न सफल भएको अध्यक्ष केसीले उल्लेख गरे ।
उनका अनुसार संस्थाले उपभोक्तालाई थप सुविधा दिन गएको साउन १देखि ८ यूनिट सम्म पानीको महषुल ५० रुपैया कायम गरिएको , धारा जडान वापत विगतमा लिई आएको १५ हजार ३ सय शुल्कलाई घटाएर १२हजार ३ सय कायम गरिएको , विपन्न वर्गका लागि निशुल्क सार्वजनिक धारा जडान गर्ने लगायका काम गरेको उल्ेख छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले आगामी कार्ययोजनाका विषयमा समेत विचार राखेका थिए । २०५१ सालमा स्थापना भएको खानेपानी संस्थामा हाल उपभोक्ताको संस्था १३ हजार ६६ पुगेको छ । संस्थाले दमकका ३ र १० बाहेकका ८ वटा वडाका बासिन्दालाई शुद्ध पिउने पानी उपलव्ध गराउदै आएको व्यवस्थापक कृष्ण थापाले बताए । जसमध्ये दमक ५ मा २८६० धारा छन् भने सवैभन्दा कमी दमक ४ मा ४७५ घरधुरीमा धारा छ ।
संस्थाले पानी महषुल लगायतबाट गएको आर्थिक वर्ष २०८०- ८१ मा ८ करोड २५ लाख १३ हजार ८ सय कुल आम्दानी गर्न सफल भएको उल्लेख छ । सोहिवर्ष ४ करोड ६८ लाख ५ हजार ४८ रुपैया खर्च भएको र त्यसमध्ये ३ करोड ५७ लाख ८ हजार ७ सय ८४ रुपैया कुल बचत गर्न सफल भएको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा जनाईएको छ ।