फेरि प्रधानमन्त्री बन्न ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद

झापा ,७ कार्तिक । एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् । आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् ।घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।’

काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए । ‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने ।
झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन् ।

ओली तीन दिन झापामा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर लागि गृह जिल्ला आएका छन् । अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दे छन्।

एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि छन् । सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीसहितका नेताहरु आज विर्तामोड , धुलावारी आसपासका कार्यक्रममा सहभागि हुने छन् ।
यसैगरी भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । त्यसपछि दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुने छन् । दसैं, तिहार,नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । यो ठाउँ पनि अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो ।
९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.