समाल्बुङ,७ कातिक । पूर्वेली भेट्रान्स विर्तामोड र लखनपुर दमक भेट्रान्स इलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोश्रो गोरख भेट्रान्सको सेमिफाइनल प्रवेश गरेको छ ।
सामसुङ मेमोरियल मैदानमा जारी प्रतियोगिता उद्धघाटन खेलमा पूर्वेलीले गत संस्करणको उपविजेता एमसीसी भेट्रान्स फिक्कललाई ४–२ गोल अन्तरले हराएको हो । खेलको सूरुवाती अग्रता फिक्कलले लिएको थियो । सुजन राईले पहिलो हाफको १९ औ मिनेटमा गोल गरे । दोश्रो हाफको सुरुवाती मिनेटमा सन्तोष राईले खेल बराबरी गरे । चौथो मिनेटमा प्रविन विश्वकर्माले फिक्कललाई अग्रता दिलाए । १० औ मिनेट कर्ण लिम्बुले फ्रिकिक मार्फत खेल बराबरीमा ल्याए । बराबरी भएको एक मिनेट नवित्दै सन्तोष राईले व्यक्तिगत दोश्रो गर्दै विर्तामोडलाई अग्रता दिलाए । दोश्रो हाफको १६ औ मिनेटमा राजकुमार विकले गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ विर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको म्यान अफ दि म्याच विर्तामोडका सन्तोष राई घोषित भए । दोश्रो खेलमा दमक लखनपुरले पाहुना टोली दार्जिलिङको जिजे भेट्रान्सलाई ३–२ गोल अन्तरले हराएको हो । लखनपुर दमकको तर्फबाट सुवास आङथुपोले २ र विकास राईले १ गोल गरे । दार्जिलिङका गौतम थापा र अर्जन राईले गोल गरे । खेलको म्यान अफ दि म्याच सुवास आङथुपो घोषित भए ।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा बरमियोक नाम्पिङ सिक्किम र आयोजक गोरख भेट्रान्स तथा चौथो क्वाटरफाइनल खेलमा युएफसी भेट्रान्स बुङकुलुङ भारत र फेमेगुरु भेट्रान्स सन्दकपुर बिच प्रतिस्पर्धा हुनेछ ।
गोरख भेट्रान्स कपका संरक्षक राजु बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं २ का सांसद एवम स्र्पोटिङ इलाम एफसीडी मेचीका अध्यक्ष सुहाङ नेम्वाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष एवम सामाजिक विकास समिति संयोजक डिक बम्जन, वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जन, रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम चौरासेको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिता गोरख टोल विकास संस्थाको आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा भएको हो ।