‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास

झापा, ६ कात्तिक । विहानको स्वच्छ हावामा ‘मर्निङ वाक’ गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ । सहरिया मात्र होइन, ग्रामीण जीवनको अभिन्न अंग बनिसकेको प्रातकालीन हिँडडुल झापामा भने हात्तीको कारण त्रासमय हुने गरेको छ ।
झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका -३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित रुपमा ‘मर्निङ वाक’ जान्थे। एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जंगली हात्तीसँग जम्काभेट भयो । जंगल छेउको एकान्तमा एक्लै अवस्थामा उहाँ हात्तीको आक्रमणबाट जोगिनु सकेनन् । घाइते अवस्थामा उद्धार गरेर दमकको एडभान्स हस्पिटलमा पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भयो ।

झापामा भारतबाट हुलका हुल आउने र स्थानीय जंगललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जंगली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौंको संख्यामा भित्रिने जंगली हात्ती रातभर खेतीपाती चरेर विहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती विहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् ।
एक दर्जनभन्दा बढी संख्यामा रहेका रैथाने हात्तीका कारण ‘मर्निङ वाक’ त्रासमय हुने गरेको छ । “विहानै सडकमा हात्ती लमक्लमक् हिँड्दै गरेको हुन्छन्,” मेचीनगर–१० धुलाबारीका गंगाधर पराजुली भन्छन्–“स्वास्थ्यका लागि ‘मर्निङ वाक’ राम्रो मानिए हिँड्न डराउने अवस्था आयो ।”
‘मर्निङ वाक’ मात्र होइन, विहान सडक आसपास बगैचामा फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । हालै धुलाबारी बजारभित्रै बगैंचामा फूल टिपिरहेका बेला जंगली हात्तीको आक्रमणमा ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै मृत्यु भयो ।

‘मर्निङ वाक’ गर्ने, च्याउ र निगुरो टिप्ने र घाँस र दाउरा संकलन गर्ने मानिसहरु अनाहकमा हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जंगलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरु धेरै छन् ।पूर्वपश्चिम राजमार्गको चारआली जंगल खण्डमा दिनहुँ पचासभन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरु एकाविहानै घना जंगलभित्र पसेर निगुरो र च्याउ संकलन गर्छन् र सडक किनारमा पसल फिजाएर विक्री गर्छन् ।

निगुरो र च्याउ खोज्ने मानिसहरु हात्ती आक्रमणको उच्च जोखिममा छन् । जंगल पार गरेर सडकमा आउनु पर्ने र एकाविहानै जंगलभित्र ती बस्तु खोजी गर्नु पर्ने भएकाले उनीहरु कुनै पनि बेला हात्तीको निशानामा पर्न सक्छन् ।

हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल बनसहित दर्जनौं सामुदायिक बन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, विर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षी लगायतका पालिका हात्तीको नियमित हिँड्ने बाटोभित्र पर्दछन् ।

स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जंगल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको पचास किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । “दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरु ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्,” उनले भने –“हात्ती जंगलमा छ कि छैन भन्ने कुनै ग्यारेन्टी हुँदैन । कुनै साइरन बज्ने व्यवस्था पनि छैन ।”

डिभिजन बन कार्यालय झापाले हात्ती विचरण गर्ने जंगल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । हात्तीलाई नजिस्काउन, नजिक नजान र नमार्न बन कार्यालयले सूचनामार्फत स्थानीयबासीलाई चेतावनी दिए तापनि घाँस, दाउरा, च्याउ र निगुरोको संकलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।

भद्रपुर नगरपालिका वडा नं ७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका वडा नं। २ स्थित चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक ३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए ।बन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शंकर लुइँटेल जंगली हात्ती सामान्यतया आफु खतरामा परेको महसुस गरेपछि मात्रै मानिसविरुद्ध आक्रमणमा उत्रिने बताउँछन् । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उनको भनाई छ ।

“मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो,” अभियन्ता लुइँटेल भन्छन् “अहिले हात्तीका लागि जंगलमा कुनै आहारा छैन । त्यसो भएकाले तिनीहरु मान्छेको बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।”डिभिजन बन कार्यालय झापाको तथ्यांक अनुसार बिगत एक दशकमा झापा जिल्लामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.